कोरोना संक्रमितको संख्या ५४ पुग्यो

  बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या ५४ पुगेको जनाएको छ । मंगलबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले रौतहटमा थप दुई जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको भन्दै संख्या ५४ पुगेको बताए ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा २४ वर्षीय पुरुष र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । ती व्यक्तिहरुलाई उपचारका लागि नारायणी अस्पताल वीरगन्ज लगिएको छ । कोरोना संक्रमितमध्ये १६ जना निको भइसकेका छन् ।

मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट ४४ हजार १९ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १० हजार ८०७ परीक्षणहरु भएका छन् । दुवै विधिबाट ५४ हजार ८ सय २६ नमुना परीक्षणहरु भएका छन् ।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी १०७ जना रहेका छन् । काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १०३ जना रहेका छन् । क्‍वारेन्टाइनमा २२ हजार ९९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया