सचिवालय बैठक बोलाउन ओली-प्रचण्ड सकारात्मक

  बैशाख १६, २०७७

काठमाडौं, वैशाख १६ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सचिवालय बैठक बोलाउन सकारात्मक भएका छन् । मंगलबार दिउँसो बालुवाटारमा भएको छलफलमा ओली र प्रचण्डबीच सचिवालय बैठक बोलाउन सहमति भएको स्रोतले बतायो।

नेकपा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन माग गर्दे आएका थिए । तर, अध्यादेश प्रकरणपछि दबाबमा परेका ओलीले यसलाई आलटाल गर्दै आए पनि मंगलबार प्रचण्डसँगको भेटमा बैठक बोलाउन सकरात्मक भएका हुन् ।

पार्टीका बरिष्ठ नेता झलनाथ खनालले बुधबार वा बिहीबारमा सचिवालय बैठक बस्ने बताए । ‘प्रधानमन्त्रीज्यूलाई भोली फुर्सद भए भोली नत्र पर्सी बैठक बस्छ । अब हामी उहाँलाई पर्खेर जाने पक्षमा छौं,’ खनालले भने ।

सोमबार ओली र नेपाल समूहका नेताहरुबीचको वार्तामा मंगलबार नै बैठक बोलाउने समझदारी भएको थियो । तर, ओली र प्रचण्डबीच भेटवार्ता तय भएपछि मंगलबारको बैठक बसेन । बुधबारका लागि अध्यक्षद्वय सकारात्मक भएका हुन् ।

मंगलबार बालुवाटारमा भएको भेटमा ओली र प्रचण्डले आ–आफ्ना अडान राखेको र बैठक बोलाउनेबाहेक अन्य राजनीतिक र शक्ति बाँडफाँडका मुद्दामा चाहिँ कुनै सहमति नभएको स्रोतले बताएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया