संक्रमित बसोबास क्षेत्रका १४० जनाको स्वाब रिपोर्ट नेगेटिभ

  बैशाख १६, २०७७

राजविराज, वैशाख १५ : सप्तरीमा जमातीसहित १४० जनाको पीसीआर रिपोर्टमा कोरोना संक्रमण भेटिएको छैन । उनीहरुको रिपार्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यससँगै जिल्लामा १८७ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ भएको हो ।

यसअघि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा विभिन्न ४७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनीहरुको स्वाब रिपोर्ट नै नेगेटिभ प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना संक्रमितको यात्रा बृतान्त सप्तरीको बोदेबरसाइन नगरपालिका ५ जाँजर स्थित गत फागुन ३–५ गते आयोजित इस्लामिक धार्मिक सभा इज्तिेमासहित विभिन्न बस्तीसँग जोडिएकोले जिल्लामा ती बस्तीका ३१७ जनाको स्वाब संकलन गरी परीक्षणको लागि धरान र विराटनगर पठाइएको थियो ।

तीमध्ये १४० जनाको रिपोर्ट प्राप्त भएको जानकारी दिदै स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले ११७ जनाको रिपोर्ट नआएको बताउनुभयो । गत आइतबार भुल्केमा कोरोना संक्रमितको यात्रा बृतान्तसँग जोडिएको सप्तरीको कञ्चनरुप नगरपालिका स्थित बैरवामा ३१, बरमझियामा ११ जना तथा सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा ११२ जना गरी १५४ जनाको स्वाब संकलन गरेको थियो ।

यसैगरी गत शनिबार बोदेबर्साइन नगरपालिका ५ स्थित चन्द्रा नमूना माविमा १५ महिलासहित १६१ जनाको स्वाब संकलन गरेकोमध्ये सोही स्थानमा शिलाजित र हिंग बेच्न आएका जुम्लाका तीन घुमन्ते व्यापारी, बोदे बर्साइनका ११३, डाकनेश्वरीका २८, सुरुङ्गाका १२, खडक नगरपालिकाका दुई र बलान बिहुल गाउँपालिकाका तीनजना रहेको स्वास्थ्य कार्यालय, सप्तरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया