अपहरणको जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगे जनता समाजवादीका नेता

  बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध सांसद ‘अपहरण’को उजुरी दर्ता गर्न प्रहरीले नमानेपछि जनता समाजवादी पार्टीका नेताहरू सरकारी वकिलको कार्यकालय, काठमाडौंमा गएका छन् । उनीहरू सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको उजुरी दर्ता गराउनका लागि सरकारी वकिलको कार्यालय पुगेका हुन् ।

सरकारी वकिलको कार्यालयले पनि उजुरी लिन नमानेको जनता समाजवादीका नेता केशव झाले जानकारी दिए। अधिवक्ता दिनेश त्रिपाठीले सरकारी वकिलको कार्यालयका अधिकारीहरूसँग छलफल भइरहेको बताए। नेताहरूसँगै उजुरीकर्ताका तर्फबाट निवेदन लिएर गएका त्रिपाठीले भने, ‘सरकारी वकिलको कार्यालयमा छलफल भइरहेको छ। निष्कर्ष निस्किएको छैन।’

सांसद यादवको तर्फबाट उजुरी दर्ता गर्नका लागि उपेन्द्र यादव, राजेन्द्र महतो, महिन्द्रराय यादव, अशोक राईलगायतका नेता सरकरी वकिलको कार्यलय पुगेका छन्। सरकारकी वकिलको कार्यालयले प्रहरीले उजुरी लिन नमानेको कारण देखाउन भनेको बताइएको छ। प्रहरीले लिखित रूपमा उजुरी नलिने भनेर नदिएको अवस्थामा सरकारी वकिलको कार्यालयमा पनि अपहरणको निवेदन दर्ता नहुने सम्भावना रहेको छ। फौजदारी कार्यविधि संहितामा प्रहरीले जाहेरी लिन नमानेको खण्डमा निवेदनसँगै राखेर जुन प्रहरी कार्यालयमा जाहेरी दिन खोजेको हो त्योभन्दा एक तहमाथिल्लो कार्यालय वा सरकारी वकिलको कार्यालयमा निवेदन दिन पाउने व्यवस्था छ।

सांसद यादवलाई तीनैजना मिलेर महोत्तरीबाट काठमाडौं ल्याइएकाथिए । समाजवादी पार्टी विभाजन गर्नका लागि उनलाई काठमाडौं ल्याइएको बस्नेत र खनालले सार्वजनिक संचार माध्यममा स्वीकार गरेका छन्। यादवले पनि आफ्नो इच्छाविपरीत काठमाडौं ल्याइएको बताउँदै आएका छन्। महानगरीय प्रहरी परिसर टेकुले यादवको उजुरी लिन नमानेपछि उनीहरू सरकारी वकिलको कार्यालय पुगेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया