ओली–नेपाल समूहबीच भएको छलफलमा जुट्न सकेन सहमति

  बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : चासोपूर्वक हेरिएको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसमूहका नेताहरुबीच छलफल सकिएको छ । कोटेश्वरस्थित एक सरकारी भवनमा करिब तीन घण्टा बसेको बैठकमा कुनै सहमति भने जुट्न सकेन । बालुवाटारमा बिहान प्रधानमन्त्री ओली र नेता नेपालको वान टु वान वार्ता सकिएलगत्तै नेपालसहितका नेताहरु दोस्रो वर्तामा बसेका थिए ।

बैठकमा नेता नेपालले एक व्यक्ति, एक पदको नीति दृढतापूर्वक लागु गर्ने अडान लिएपछि कुनै समहति जुट्न नसकेको हो । राजनीतिक र शक्तिबाँडफाँडका विषयमा कुनै सहमति नभएको बैठकमा सहभागी एक नेताले बताए ।अध्यादेश प्रकरणपछि पार्टीभित्र अफट्यारोमा परेका प्रधानमन्त्री ओलीले नेता नेपाल समूहलाई फकाउने कोशिस गरेका थिए । त्यसका लागि ठोस प्रस्ताव ल्याउन नेपाल समूहको माग थियो । आजको छलफलमा ‘पावरसियरिङ्’मा सहमति नजुटेको एक नेताले बताए ।

तर, सचिवालय बैठक बस्ने विषयमा भने दुवै समूहका नेताबीच अनौपचारिक सहमति भएको छ ।बैठकमा सहभागी नेपाल समूहका नेता रघुजी पन्तले मंगलबार सचिवालय बैठक बस्ने सहमति भएको बताएका छन् । उनका अनुसार मंगलबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठकबारे निर्णय गर्नेछ । ‘सरकारका र पार्टीका कामको विना पूर्वाग्रह समीक्षा गर्नुपर्छ र यो समस्याको निकास हामीले खोज्नुपर्छ । निकास पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको हैसियतमा उहाँ (ओली)ले दिने हो। गतिरोध टुंग्याउने ढंगले निकास दिनुपर्छ भन्ने कुरा भयो,’ पन्तले भने।

छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली थिए । नेपालका तर्फबाट नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त सहभागी थिए । ‘उहाँहरुले कहाँ गल्ती कमजोरी छन्, खोजौं र मिलौं भन्नु भयो। हामीले पनि गल्ती कमजोरी हटाउने, पार्टीलाई एकताबद्ध गर्ने उद्देश्य हो। त्यही कारण बैठक माग गरेका हौं । जे जे गर्नुपर्छ बैठकमै गरौं भन्यौं,’ छलफलमा सहभागी नेता भीम रावलले भने, ‘भोली नै सचिवालयको बैठक र पर्सी स्थायी कमिटी बैठक गरौं । त्यहाँ खुलस्त छलफल गरौं। त्यही निष्कर्ष निकालौं ।’

नेता रावलले बैठकमा अर्को समूहका नेताहरुबाट कुनै प्रस्ताव नआएको बताए । ‘त्यहाँ कुनै प्रस्ताव आएको छैन । नीतिगत कुरामै छलफल केन्द्रीय भयो। गल्ती कमजोरी होलान् । त्यसबारे पार्टीको उच्चतहमा कुरा गरौं । अनौपचारिक छलफल गरौं भनेर उहाँहरुले भन्नुभयो,’ नेता रावलले भने, ‘छलफल गर्ने कुरामा के आपत्ति भयो र? छलफल हुँदै आएको छ, अब पनि गरौंला । तर, अनौपचारिक छलफलभन्दा हामीले बैठक माग गरेका छौं। तुरुन्त बैठक बसौं, त्यहीं छलफल गरौं। पार्टीलाई विधि पद्दतिमा चलाऔं हामीले भन्यौं ।’

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सोमबार दिउसो अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर सचिवायल बैठक बोलाउन आफूले माग गरेको बताए । ‘मैलै अध्यक्ष प्रचण्डलाई सचिवालय बैठक माग गरेर आएको हुँ । तर, के हुन्छ थाहा छैन । बैठकको कुनै सूचना आईसकेको छैन । स्थायी कमिटीको बैठक पनि तुरुन्त गराउनुस् र पार्टीका समस्याहरु संस्थागत ढंगले हल हुनुपर्छ । अरु ढंगले हुँदैन भनेको छु,’ खनालले भने । पुष्पकमल दाहाल र माधव नेपाल समूहका २० स्थायी कमिटि सदस्यले स्थायी कमिटी बैठक बोलाउन लिखित माग गरिसकेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया