विराटनगरबाट आएका यात्रु नागढुंगाबाट ९ घण्टापछि छुटे

  बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : प्रहरीले विराटनगरबाट आएकालाई नागढुंगामा रोकेको ९ घण्टापछि छाडेको छ । विराटनर महानरपालिकाले बस रिजर्भ गरेर पठाएकासहित ६० जना यात्रु बिहान ९ बजेदेखि प्रहरीले नागढुंगामा रोकेर राखेको थियो ।

प्रहरीले ६ बजे छाडेको विराटनगरबाट आएका सुजन राईले बताए । ‘भर्खर छाड्यौ हिँड्दै छौं,’उनले भने। दिनभरी रोकेर साँझमा छाडेपछि कोठामा कसरी पुग्ने भन्दै उनीहरु आत्तिएका छन् । प्रहरीले ९ घण्टादेखि नागढुंगा नाकामा रोकेर राखेका यात्रुले आफूलाई नछाडेको भन्दै आक्रोशित भएका छन् । एउटै बसमा आएका यात्रुलाई छाडेर घर पुगे पनि आफू रोकिएको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

‘हामी धादिङबाट आएका होइनौं । हामी प्रहरीको कर्या चेकपोष्ट हुँदै नागढुंगा आइपुग्यौं,’नागढुंगामा रोकिएका पबित्रराज खत्रीले भने, ‘रोक्ने भए हामीलाई विराटनगरमै किन नरोकेको? बाटोभरीको प्रहरीले किन नरोकेको? यहाँ आएर हामीलाई अलपत्र पारेर भर्खर छाड्यो ।’ दिउँसो १ बजे सीडीओ नै चेकपोष्टमा आएपछि आफूहरुलाई छाड्ने उनीहरुले आशा गरेका थिए । साँझसम्म पनि नछाडेपछि साना दूधे बालक भएका यात्रुहरु आत्तिएका थिए ।

प्रहरीले उनीहरुलाई ल्याउने बस भने काठमाडौं पठाइसकेको छ। ‘हामीसँगै आउने आधाभन्दा बढी साथीहरु नाम टिपाएर बिहान १० बजे नै गइसके । हामीलाई ल्याउने बस पनि गइसक्यो,’ जगदीश भण्डारीले भने, ‘हाम्रो स्वास्थ्य जाँच पनि दिउसै गरेको थियो। यतिबेला छाडेर कसरी घर जानु?’ इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया