घना बस्तीमा रहेको पाईप गाेदाममा आगलागी

  बैशाख १५, २०७७

वीरगञ्ज , वैशाख १५ : वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ तेजारथ टोल नाम घनाबस्तीको बीचमा रहेको मनोकामना पाईप उद्योगको गोदाममा सोमबार दिउँसो अचानक आगा लाग्दा समयमा नै महानगरका वारुणयन्त्र पुगेपछि सम्भावित ठूलो दुघर्टना टरेको छ ।

पाईप उद्योगको गोदाममा भएको आगलागीले तीन तर्फ नै रहेका दुईदेखि चार तल्ले घरका ढोका तथा झ्यालका काठमा आगो समाईसकेको थियो । 

लक डाउनका कारण मानिसहरु घरमा नै रहेका थिए सबै घरबाट बाहिर निस्कन भ्याएका थिएनन् । तर समयमा नै वारुणयन्त्र पुगेर आगलागी नियन्त्रणमा लिएपछि अन्य घरमा आगो फैलिन पाएन र ठूलो दुर्घटना टरेको हो । ।

लक डाउनका कारण सडक खाली रहेकाले र महानगरका दुई दमकल तथा एक फायर फाईटर भ्यान केहीबेरमा नै घटनास्थलमा पुगेपछि तीन वटै वारुणयन्त्रले केहीबेरमा आगो नियन्त्रणमा लिन सफल भएको थियो ।

आगलागीका कारण गोदाममा रहेको ठूलो परिमाणका तयारी चापाकल गाड्दा जमिनमा हाल्ने कालो रंगका घाराका पाईप जलेर नष्ट भएको छ भने दुईकोठे गोदाममा पनि क्षति पुगेको छ । गोदामघरमा राखिएको एउटा मोटर साईकलमा पनि क्षति पुगेको छ ।

आगलागीबाट कति क्षति भयो भन्ने विवरण आईनसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया