खुमलटारमा दाहाल र खनालबीच भेटवार्ता

  बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : बालुवाटारमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता चलिरहेका बेला खुमलटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालबीच वार्ता भएको छ ।

सोमबार दिउसो दाहाल निवास खुमलटार पुगेका खनालले झण्डै दुई घण्टा त्यहाँ बिताएका थिए । दाहाल र खनालले स्थायी कमिटी बैठकअघि सचिवालयको बैठक बोलाउने र छलफल गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री ओली बैठकका लागि तयार नभए कार्यकारी अध्यक्षको हिसाबले दाहाललाई सचिवालय र स्थायी कमिटी बैठक बोलाउन खनालले सुझाव दिएको उनी निकट स्रोतले बतायो ।नेता खनालले अबिलम्व स्थायी कमिटी बैठक बस्नुपर्ने माग गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले बैठक नबोलाइ टार्न खोजे थप समस्या उत्पन्न हुने खनालले बताउँदै आएका छन् ।

अध्यादेश प्रकरणपछि नेकपामा अन्तरविरोध बढेको छ । अन्तरविरोधकै कारण सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरुले छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।अध्यादेश प्रकरणपछि पार्टीमा अप्ठ्यारोमा परेपछि प्रधानमन्त्री ओलीले नेता नेपाल समूहलाई फकाउने प्रयास गरेका छन् । त्यसका लागि आफैं पनि अघि सरेका छन् भने निकट नेताहरुलाई पनि खटाएका छन् ।

सोमबार ओली र नेपालबीच बालुवाटारमा छलफल भएको थियो । त्यसलगत्तै नेता नेपाल निवास कोटेश्वरमा ओलीपक्षबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली थिए । यस्तै नेपाल स्वयं र उनको समूहका स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

नेकपाका २० स्थायी कमिटी सदस्यले अध्यादेश फिर्ता भए पनि बैठक बोलाउनुपर्ने अडान कायमै राखेपछि ओलीले बैठक टार्दै आएको इकान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया