नेपालगञ्जमा अलपत्र नागरिकलाई उद्धार गर्दै नेता शर्मा

  बैशाख १४, २०७७

राँझा, वैशाख १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्माको पहलमा बन्दाबन्दीका कारण नेपालगञ्जमा अलपत्र मजदूर तथा विद्यार्थीको उद्धार गरिएको छ । नेपालगञ्जमा अलपत्र एक सयभन्दा बढी मजदूर तथा विद्यार्थीलाई नेता शर्माको पहलमा उद्धार गरी रुकुम(पश्चिम)पठाइएको छ ।

नेता शर्माले रुकुम चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मासँग समन्वय गरेर बन्दाबन्दीका कारण नेपालगञ्जमा अलपत्र रुकुम(पश्चिम)का मजदूर र विद्यार्थीलाई उद्धार गरी त्यसतर्फ पठाइएको अनेरास्ववियु बाँकेका संयोजक सुरेन्द्रजङ्ग शाहले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार ६२ मजदूर र शनिबार ३५ विद्यार्थीलाई रुकुम(पश्चिम) पठाइएको छ । नेपालगञ्जबाट मजदूरीका सिलसिलामा रुकुम पुगेका ३० मजदुरलाई समेत चौरजहारी नगरपालिकाको समन्वयमा नेपालगञ्ज ल्याउने काम भएको छ ।

रुकुम(पश्चिम)सँगै कर्णाली प्रदेशका सल्यान, रोल्पा, प्युठान, जाजरकोट, हुम्ला, कालीकोट, दैलेखलगायत जिल्लाबाट अध्ययनका सिलसिलामा बाँके आएर अलपत्र परेका विद्यार्थीलाई पनि सम्बन्धित जिल्लासम्म पठाउनका लागि समन्वय भइरहेको विद्यार्थी नेता शाहको भनाइ छ ।

बन्दाबन्दीका कारण अलपत्र नागरिकलाई बाँकेका स्थानीय तहले पनि खाना खुवाउने र आफ्नो सीमासम्म पु¥याउने व्यवस्था मिलाउँदै आएका छन् । बन्दाबन्दी बढेपछि ज्याला मजदूरी, रोजगारी र पढ्ने सिलसिलामा काठमाडौंँलगायत विभिन्न जिल्लाबाट घर फर्कने सर्वसाधारण सडकमा भोकभोकै हुन थालेपछि राजमार्गसँग जोडिएका स्थानीय सरकारले उनीहरुलाई उद्धार तथा राहतमा साथ दिन थालेका हुन् ।

बाँकेका राप्तीसोनारी, कोहलपुर र बैजनाथ गाउँपालिकासँग राजमार्ग जोडिएको छ । यी तीनै स्थानीय सरकारले तीन दिनदेखि सडकमा अलपत्र यात्रुलाई खाना खुवाउने र आफ्नो सीमासम्म पु¥याउने व्यवस्था मिलाउँदै आएका छन् । कोहलपुर नगरपालिकाले अलपत्र यात्रुलाई स्थानीय सङ्घसंस्थासँग समन्वय गरेर छिमेकी स्थानीय तहसम्म पु-याउँदै आएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोहलपुरसम्म आइपुगेका पैदल यात्रीलाई पश्चिममा बाँके र बर्दियाको सीमा क्षेत्र मानखोलासम्म तथा उत्तरमा सुर्खेत र बाँकेको सिमाना बबईसम्म पु¥याउने व्यवस्था मिलाइएको छ । बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा नगरपालिकासँग समन्वय गरेर अलपत्र नागरिकलाई पठाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया