नेतृत्वमा ‘नमुना’ हुनुहुन्थ्यो अधिकारी

  बैशाख १४, २०७७

काठमाडौँ, वैशाख १४ : नेपालको कम्युनिस्ट आन्दोलनमा मनमोहन अधिकारीलाई निष्ठाको राजनीति, शालीन व्यक्तित्व र खुला हृदयका नेताको रूपमा लिइन्छ । २०५६ वैशाख १३ गते दिवङ्गत हुनुुभएका अधिकारीको सम्झनामा बन्दाबन्दीका कारण शनिबार कुनै औपचारिक कार्यक्रम हुन सकेन । तर पाका व्यक्तित्वहरू उहाँलाई ‘नमुना’ नेतृत्वका रूपमा चिन्छन् ।

नेपालको कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेता अधिकारी दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा समेत परिचित हुनुहुन्छ । वरिष्ठ वाम बुद्धिजीवी गोविन्द ज्ञवालीले लामै सङ्गत गर्नुभयो, अधिकारीसँग । उहाँको अनुभवमा नेपालको कम्युनिस्ट आन्दोलनमा ‘नमुना’ नेतृत्व हुनुहुन्छ, मनमोहन । उहाँ भन्नुहुन्छ, “गतिशील नेतृत्व, स्पष्ट वक्ता, सरल जीवनशैली, खुला हृदयको नेता हुनुहुन्थ्यो अधिकारी ।”

ज्ञवालीले विगत सम्झनुभयो, “उहाँलाई भेट्दा ऋषिमुनीसँग भेटेको अनुभूति हुन्थ्यो । कार्यकर्तालाई गर्ने व्यवहार निकै राम्रो थियो । उहाँको जस्तो सोच बोक्ने हो भने नेपालको विकास सजिलै गर्न सकिन्छ । ” ‘सामाजिक सुरक्षा भत्ता’ र ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ जस्ता लोकप्रिय कार्यक्रमका प्रणेता अधिकारीलाई ‘निष्कलङ्क प्रधानमन्त्री’का रूपमा लिनुहुन्छ, ज्ञवाली ।

त्यस्तै बाम बुद्धिजीवी गोपीरमण उपाध्यायको बुझाइमा अधिकारी शालीन नेता हुनुहुन्थ्यो । अधिकारीको प्रेमपूर्ण व्यवहार, बौद्धिक प्रस्तुतिबाट प्रभावित उपाध्याय भन्नुहुन्छ, “सङ्गठनात्मक रूपमा नेकपा (माले)मा आबद्ध भए पनि अधिकारीसँग मेरो लामै उठबस थियो ।” उहाँले २०३६ सालको जनमतसङ्ग्रहमा समेत मनमोहन अधिकारीको ‘जनपक्षीय बहुदल समाज’का गतिविधिमा भित्री रूपमा सहयोग गरेको स्मरण गर्नुभयो ।

त्यस्तै नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेल अल्पमतको सरकार नौ महिना मात्र चलाउन पाउँदा पनि जनतामा छाप छोड्न सफल नेतृत्वका रूपमा अधिकारीलाई सम्झनुहुन्छ । उहाँले भन्नुभयो, “सरकार सफल हुनुको पछाडिको कारण थियो, पार्टी र सरकारबीच राम्रो समन्वय ।”

त्यस्तै महिला नेत्री शान्ति अधिकारी उहाँलाई नेपाली इतिहासका ‘युगपुरुष’का रूपमा सम्झनुभयो । स्वर्गीय अधिकारीबारे नेत्री अधिकारीले भन्नुभयो, “जो आमनेपाली जनताको मनमा बस्न सफल एक सच्चा कम्युनिस्ट नेता । यो देशलाई सदैव अधिकारीको आवश्यकता खड्किरहनेछ । ”

तपाईको प्रतिक्रिया