सीमापारी भारतमा ११ जना संक्रमित भेटिए, नाकामा कडाई गरियो

  बैशाख ११, २०७७

नेपालगञ्ज, वैशाख ११ : बाँके जिल्लासंग सीमाना जोडिएका दुईवटा भारतीय जिल्लामा ११ जनामा कोरोना पोजेटिभ देखिएपछि यहाँस्थित नेपाल भारत सीमानामा थप कडाई गरिने भएको छ ।

नेपालगञ्जसंग जोडिएको सीमापारीको बहराईच जिल्लामा एक नेपाली सहित ८ जना र नरैनापुरसंग सीमाना जोडिएको सीमापारीको श्रावस्ती जिल्लामा ३ जना कोरोना संक्रमित भेटिएपछि सीमानामा थप सतर्कता र कडाई गर्न लागिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

सीमापारी ११ जनामा संक्रमण देखिएपछि बाँकेका सर्वसाधारणबाट सीमानामा कडाई गर्ने र भारतबाट आउने सामान र गाडीमा समेत निगरानी बढाउने दबाव बढेपछि झन कडाई गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनु भयो ।

उहाँले जिल्लाको मुख्य नाका सहित ६५ किलोमिटरको खुला सीमानामा सुरक्षाकर्मीहरु थपेर कडाई गरिएपनि त्यसको नियमित अनुगमन र थप कडाई गर्न लागिएको बताउनु भयो । सीमापारी नजिककै देखिएकोले थप सतर्कता र सुरक्षा उपायहरु अपनाउनु अतिआवश्यक देखिएको पनि प्रमुख जिल्ला अधिकारी खड्काले बताउनु भयो ।

सीमानामा गरिएको सुरक्षा प्रबन्धको पुन एक पटक निरिक्षण गरेर त्यसमा यदि केही कमीकमजोरी छ भने सच्याएर अगाडी बढ्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उता, नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले लकडाउनलाई कडा पार्नुका साथै सीमानामा कडाई गरिनु र एक जना पनि अवैध तरिकाले आवागमन गर्न नपाउने व्यवसथा मिलाउनु पर्ने माग गर्नु भयो । सीमापारीको जिल्लामा एकै पटक धेरै बिरामी भेटिएपछि बाँकेका स्थानीयमा त्रास र डर बढेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया