साउदीमा तारे होटल पनि क्वारेन्टाइन, नेपाली कामदार चिन्तित

  बैशाख १०, २०७७

काठमाडौं, वैशाख १० : साउदी सरकारले बिभिन्न तारे होटलहरुलाई पनि क्वारेन्टाइनका रुपमा प्रयोग गर्न थालेको छ । ती होटलहरूलाई क्वारेन्टाइन बनाउन थाले पछि त्यहाँ कार्यरत नेपालीले काम गर्न नसकिने गुनासोे गर्न थालेको दूतावासले बताएको छ ।

गुनासो सम्बन्धमा होटलको व्यवस्थापनसँग कुराकानी गर्दा होटलमा काम गर्ने सबैको सुरक्षाका लागि होटलले सरकारको निगरानी र निर्देशन अनुसार सावधानीका आवश्यक उपायहरु अवलम्वन गरेको र कुनै समस्या नभएको जानकारी दिएको दूतावासले बताएको छ ।

आफूले गर्ने काम सम्बन्धी समस्याहरूलाई प्रष्टरुपमा व्यवस्थापनसँग राख्न र सुरक्षाका सबै उपायहरुलाई अवलम्वन गर्दै कार्य गर्न नेपालीलाई दूतावासको अनुरोध छ । कोरोना भाइरसको संक्रमणको संवेदनशील र गम्भीर सावधानी अपनाउन जरुरी रहेको दूतावासको भनाइ छ ।

साथै हाल बसिरहेको आवास नछोड्न पनि दूतावासले साउदीमा कार्यरत सवै नेपालीलाई आग्रह गरेको छ । कम्पनीले जुनसुकै वहानामा बसिरहेको आवासबाट अन्यत्र लैजान खोजेमा स्वीकार नगर्न पनि अनुरोध गरेको छ । जानुपर्ने विश्वसनीय आधार भएमा चालकको भरमा मात्र नभई कम्पनीको प्रतिनिधिको साथमा मात्र जान दूतावासले बताएको हो ।

तपाईको प्रतिक्रिया