रतुवामाई र सुनवर्षीको २२ किलोमिटर सीमा बन्द

  बैशाख १०, २०७७

सुनवर्षी (मोरङ), वैशाख १० : भारतसँग सीमा जोडिएका दक्षिणपूर्वी मोरङका रतुवामाई र सुनवर्षी नगरपालिका क्षेत्रमा पर्ने २२ किलोमिटर सीमा बन्द गरिएको छ ।

ठूलो सङ्ख्यामा भारतीय लुछिछिपी नेपाल प्रवेश हुन थालेपछि रतुवामाईको चुनिमारीस्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बरडङ्गाले सीमा नाका पूर्णरूपमा सिल गरेको हो ।

भारतीय भूभागमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपले फैलन थालेपछि सङ्क्रमित व्यक्ति नेपाल प्रवेश नगरोस् भनी भारतसँग सीमा जोडिएका नाकाका २२ वटै स्थानमा सशस्त्र प्रहरी परिचालन गरी नाका पूर्णरूपमा सिल गरिएको हो ।

रतुवामाई र सुनवर्षी नगरपालिकका २२ किलोमिटर सीमा क्षेत्रमा एक हजार २५० मिटरको अन्तरमा अस्थायी चेकपोस्ट स्थापना गरी प्रत्येक पोस्टमा छ-छ जनाका दरले सशस्त्र प्रहरी खटाइएको सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बरडङ्गाका इन्चार्ज प्रहरी निरीक्षक झपिन्द्र बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि सात स्थानमा मात्र अस्थायी चेकपोस्ट रहेकोमा थप १६ स्थानमा अस्थायी चेकपोस्ट निर्माण गरेर सीमा नाका सिलबन्दी गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक बानियाँले रतुवामाई नगरपालिको छालगाछी, कुटुमगञ्ज, सोनापुर, सोनापुर(क), सोनापुर (ख) डोरिया, आमबारी, मिर्चीडाँगी, भन्सार टोल, बालुबारी, बालुबार (क) घरुचोक, सालघारी, सोनामाई थान, सोनामाई थान (क) र सुनवर्षी नगरपालिकाको सिक्टी, सिक्टी (क), सिक्टी (ख), बरडङ्गा, बरडङ्गा (क), बरडङ्गा (ख), खरेबारी तथा हर्चनगढी नाकाका सशस्त्र प्रहरी परिचालन गर्नुका साथै एक टोलीलाई मोबाइल गस्तीका रूपमा परिचालन गरिएको जानकारी दिनुभयो ।

हाम्रो नियमित ड्युटी त छँदैछ । हामीले यतिबेला थप सुरक्षाकर्मी परिचालन गरी कोही पनि आउन जान नसक्ने गरी नाका सिल गरेका छौँ, उहाँले भन्नुभयो । कोही पनि नेपाल प्रवेश गर्न नपओस् भनेर स्थानीय बासिन्दाले पनि निगरानी बढाइरहेको उहाँले जानकारी दिनुभयो ।  

तपाईको प्रतिक्रिया