उदयपुर, वैशाख ९ : उदयपुरको त्रियुगा नगरपालिका – ३ भुल्केस्थित मस्जिद कोशी अस्पतालमा भएको स्वाब परीक्षणमा संक्रमण पाइएका आठ जनाको पुनः परीक्षणमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । सो कुराको जानकारी उदयपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो ।
यसअघि सो क्षेत्रका १३ जनामा कोरोना पुष्टि भए पछि प्रदेश सकारको पहलमा ६९ जनाको कोशी अस्पतालमा पीसीआर माध्यमबाट स्वाब परीक्षण गर्दा पोजेटिभ आएपछि पुनः परीक्षणका लागि धारानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब नमुना पठाइएको थियो ।
त्यस्तै सो क्षेत्रमा नेपाली सेनाले आइतबार २५१ जनाको स्वाब संकलन गरी काठमडौमा ल्याएको र ती नमुना केन्द्रिय जनस्वास्थ्य प्रयोगशालमा जाँचका क्रममा एक ३३ वर्षीया युवकमा संक्रमण पाइएको थियो ।
यसअघि गत वैशाख ५ गते सरकारले भुल्केका १२ जनामा कोरोना पुष्टि गरेको थियो भने त्यसको भोलिपल्ट थप एकजना पुष्टि गरेको थियो । उदयपुरको त्रियुगा नगरपालिका – ३ मा पर्ने भुल्केको नुरी मस्जिदमा बसेका १२ भारतीय र चार नेपाली नागरिकको स्वाप परिक्षण गर्दा १३ जना संक्रमित पुष्टि भएको हो । बाँकी तीनजना विराटनगरको एक क्वारेन्टाइनमै रहेका छन् । हाल उक्त ठाउँमा पूर्णरुपले लक गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो ।
उदयपुरको भुल्केमा थप ८ जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएसँगै प्रदेश सरकारले मंगलबारबाट पुरै जिल्लालाई चारैतिरबाट सिल गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो ।
उदयपुरमा थप १० जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।