काठमाडौं, वैशाख ८ : सत्तारुढ नेकपाले पार्टीको सचिवालय बैठक बोलाएको छ । बैठक साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । आजै मन्त्रिपरिषद्बाट राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने निर्णय भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो।
स्रोतका अनुसार मन्त्रिपरिषद्ले दुई अध्यादेश ल्याउने निर्णय गरेपछि अर्का अध्यक्ष पुष्पकलम दाहालले प्रधानमन्त्री ओलीसँग टेलिफोन वार्ता गरेका थिए। उनले आफूसँग सल्लाह नगरी अध्यादेश ल्याउने निर्णय गरिएको बारे प्रश्न गरेपछि ओलीले दाहाललाई भेट गर्न बालुवाटार बोलाएका थिए। तर, दाहालले यो विषयमा सचिवालयमै छलफल गर्न उपयु्क्त हुने बताएपछि बालुवाटारमा बैठक बस्न लागेको हो।
नेकपा स्रोतका अनुसार दाहालले राजधानी बाहिर रहेका पूर्व माओवादी पक्षका स्थायी समिति सदस्यहरुलाई काठमाडौं बोलाएका छन्। दाहाल निकट नेता हरिबोल गजुरेलका अनुसार अध्यादेश जारी हुँदैंछ भन्ने सामान्य सूचना दाहाललाई थियो। आईतबार आफ्नो कुराकारी हुँदा दाहालले त्यो संकेत गरेको गजुरेलले बताए।