रुकुम, रोल्पा र सल्यानका ४ सयभन्दा बढी मजदुर घर पठाइए

  बैशाख ०७, २०७७

काठमाडौं, वैशाख ७ : भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सयभन्दा बढी मजदुरलाई गन्तव्यमा पठाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको पहलमा स्थानीय प्रशासनसँग समन्वय गरी मजदुरलाई घर पठाइएको हो ।

काभ्रे, सिन्धुपाल्चोक र भक्तपुरका इँटाभट्टामा काम गर्ने मजदुरहरू कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि लकडाउन गरेपछि अलपत्र परेका थिए। उनीहरूले काम गर्ने उद्योग बन्द भएका थिए। आफ्नो जिल्ला फर्किन हिँडेका उनीहरुलाई शंकरापुरमा सुरक्षाकर्मीले रोकेका थिए ।

मन्त्री पुन आफैं जगाती पुगेर ८ वटा बसमा उनीहरूलाई गन्तव्यसम्म पुग्‍न समन्वय गरेको उनका प्रेस संयोजक दयानिधि भट्टले बताए। ३ सयभन्दा बढी मजदुर काभ्रे र सिन्धुपाल्चोक तथा करिब १ सय मजदुर ललितपुर र भक्तपुरका इँटाभट्टामा काम गर्थे । यसअघि कतिपय मजदुर लामो दूरी पैदल यात्रा गरेर काठमाडौं उपत्यकाबाट घर गएका थिए ।

सरकारले लकडाउनका क्रममा जो जहाँ छ त्यहाँ नै रोक्‍न सुरक्षा निकायलाई निर्देशन दिएको थियो। तर, लकडाउन लम्बिएसँगै विभिन्‍न क्षेत्रमा काम गर्ने मान्छेले काठमाडौं उपत्यका छोड्‍नेक्रम नरोकिएपछि बसमा पठाउन लागिएको कान्तिपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया