रुकुमका दुई जनाको पीसीआर रिर्पोट नेगेटिभ

  बैशाख ०६, २०७७

रुकुम पश्चिम, वैशाख ६ : कोरोना भाइरस (कोभिड– १९) संक्रमणको आशंका गरिएका २ पुरुषको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । बाँफिकोट गाउँपालिका– ६, का ३६ वर्षीय र ७ नम्बर वडाका ३७ वर्षीय पुरुषको पीसीआर रिपोर्टमा कोरोनाको संक्रमण नभएको पाइएको हो ।

यसअघि कैलालीको धनगढीस्थित प्रयोगशालामा उनीहरूको थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना संक्रमणको आशंका गरिएको थियो । बाँफिकोट क्षेत्रका अन्य ३७ जनासँगै उनीहरूको पीसीआर रिर्पोट सुर्खेतबाट परीक्षणका लागि धनगढी पठाइएको थियो । धनगढीबाट आशंका गरिएपछि उनीहरूको थ्रोट स्वाब परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । उक्त परीक्षणबाट यी दुवै जनाको रिर्पोट नेगेटिभ आएको हो ।

बिहीबार दिउँसो टेकु पुर्‍याइएको स्वाबको रिर्पोट शुक्रबार बेलुकी आएको थियो । जसमा दुवैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए । उनले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने कि केही दिन आइसोलेसनमा नै राख्‍नेभन्‍नेबारे छलफल भइरहेको बताए ।

धनगढी प्रयोगशालामा परीक्षणका क्रममा शंकास्पद पाइएपछि दुवैलाई चौरजहारी स्थित कोरोना आइसोलेसन अस्पतालमा भर्ना गरिएको थियो । आइसोलेसन अस्पताल लैजानु अघि घरमै गरिएकोर्‍यापिड डाइगोनोस्टिक टेष्ट (आरडीटी)को रिर्पोट पनि नेगेटिभ आएको थियो ।

३६ वर्षीय पुरुष चैत्र ९ र ३७ वर्षीय अर्का पुरुष चैत्र १० गते भारतबाट घर आएका थिए । दुवै जनालाई कोरोना भएको आशंका गरिएपछि २ दिन लगाएर उक्त क्षेत्रका आरडीटी गरिएको छ ।
बाँफिकोट गाउँपालिकाका ६, ७ र ८ नम्बर वडामा गरिएको आरडीटीको सबै रिर्पोट नेगेटिभ आएको छ । बिहीबार र शुक्रबार २ सय ८८ जनामा आरडीटी गरिएकामा सबैको रिर्पोट नेगेटिभ आएको छ ।

त्यसरी आरडीटी गरिएकामा ८ जनामा संक्रमणको आशंका गरिएको छ । आशंका गरिएकामा दुवै जनाका परिवारका सदस्य पनि छन् । ६ नम्बर वडामा १ सय ९३, ७ नम्बर वडामा ४० र ८ नम्बर वडाका ५५ जनाको आरडीटी गरिएकामा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोरोना रोग फोकल पर्सन ईश्वर रावलले बताए । आरडीटी बाँफिकोटका सबै वडा र अन्य ५ वटा पालिकामा पनि छिटै गरिने तयारी भइरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया