थप चिकित्सक टोली सुदूरपश्चिम आउँदै

  बैशाख ०५, २०७७

भीमदत्तनगर, वैशाख ५ : कोरोना भाइरस सङ्क्रमणको जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३३ जना चिकित्सकलाई यहाँ पठाएको छ ।

विभिन्न शिक्षण अस्पतालमा एमडी अध्ययनरत ती चिकित्सकलाई कोरोना भाइरसको उपचारका लागि सो मन्त्रालयले सुदूरपश्चिम पठाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । उहाँले प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा सिफारिसका आधारमा यहाँ आउन लागेका चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न जिल्लामा मुख्यमन्त्रीको कार्यालयले खटाउने जानकारी दिनुभयो ।

“निर्देशिकामै आवश्यकताअनुसार प्रदेश मुख्यमन्त्रीको कार्यालयले चिकित्सक तथा स्वास्थ्यकर्मी खटाउने भनिएको छ ।” उहाँ भन्नुभयो, “त्यसका लागि हामी आवश्यक गृहकार्य गरिरहेका छौँ ।” सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर, भीमदत्तनगरस्थित महाकाली अस्पताल, डडेल्लधुरा, बैतडी, दार्चुलालगायत जिल्ला अस्पतालमा परिचालन बताइएको छ ।

“डोटी र बाजुरामा अहिले आवश्यकता नभएको भन्ने आएको छ ।” जोशीले भन्नुभयो, “अन्त पठाउने कुरो भएको छ ।” सुदूरपश्चिममा चिकित्सक तथा स्वास्थ्यकर्मीको कमी रहेका बेला कोरोना परीक्षणको दायरा बढाउन चिकित्सक टोली पठाएको हो । यसअघि पनि ¥यापिट टेष्टका लागि केन्द्रबाट ६ जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली सुदूरपश्चिम आइपुगेको थियो ।

बिहीबारसम्म सुदूरपश्चिम प्रदेशमा ६ हजार २२६ जनाको नमूना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । यहाँ हालसम्म पाँच जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया