साउदीमा कार्यरत नेपालीको गुनासोः कम्पनीले घरजाने फारम भराउन थाले

  बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : साउदीमा कार्यरत अधिकांश नेपालीले टेलिफोन वा ह्वाट्सएपबाट कम्पनीको कार्य वातावरण असुरक्षित भएको भन्दै कम्पनीले घरजाने फारम भराउन थालेको गुनासो गरेका छन् ।

साउदीस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार कम्पनीले घरजाने फारम भराउँदै खान बस्न नदिएको लगायतका समस्याहरु नेपालीले दूतावास समक्ष जानकारी गरेको बताएको हो ।
यसै बीच दूतावासले समस्या परेका नेपालीलाई आफू कार्यरत कम्पनीको नाम, काम गरेको अवधि, हालको समस्या लगायत उपलव्ध भएसम्म समस्यामा परेका नेपालीको संख्या समेत उपलव्ध गराइदिन आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमणको यस संकटमा यथास्थानमा सुरक्षित बस्न नेपालीलाई दूतावासले अनुरोध गरेको छ । संसार भर संक्रमणका हिसावले अत्याधिक चुनौतिपूर्ण र जोखिमपूर्ण समेत रहेकाले अधिकांश मुलुकले संक्रमण फैलन नदिन हरसम्भव सबै उपायहरू अवलम्वन गरेको दूतावासले बताएको छ ।

विहीबार सम्ममा साउदी अधिकारीहरूले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ हजार ३८० पुगेको दूतावासले जानकारी दिएको छ । हिजो थप ५१८ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरू मध्ये हालसम्म ९९० जना निको भएका छन् । हिजो चार जना सहित जम्मा ८३ जना संक्रमितको मृत्यु भएको छ । थप नेपालीहरुमा संक्रमण भएको आधिकारिक जानकारी नआएको दूतावासले बताएको छ ।

तपाईको प्रतिक्रिया