साग पदकधारीको पुरस्कार खातामा

  बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका नेपाली खेलाडीले चार महिनाभन्दा बढी समयपछि बुधबार पूर्वघोषित पुरस्कार रकम पाएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले पदकविजेता खेलाडीलाई घोषित रकम बैंकमार्फत खातामा पठाइदिएको हो ।

मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजित १३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य पदक जितेको थियो । यो सागमा नेपालले पाएको ठूलो सफलता हो ।

साग सकिएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडी र प्रशिक्षकका पुरस्कार घोषणा गरेका थिए । प्रधानमन्त्रीको घोषणा कार्यान्वयन हुन लामो समय लागेको थियो । यसबीच एक महिनादेखि कोभिड १९ का कारण दैनिक कार्यसम्पादनमा असर पुगेको राखेपका राष्ट्रिय टिम तयारी शाखा प्रमुख महेन्द्रकुमार राईले बताए ।

सरकारले सागमा पदक विजेता खेलाडीले एकल खेलतर्फ स्वर्णलाई ९ लाख, रजतलाई ६ लाख र कांस्यलाई ३ लाख रुपैयाँ पुरस्कार उपलब्ध गराएको छ । सामूहिक खेलमा स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र कांस्यलाई २ लाख रुपैयाँ पुरस्कार दिइएको छ । स्वर्ण विजेता खेलका प्रशिक्षकले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रशिक्षक र सम्बन्धित राष्ट्रि्रय खेल संघको रकम क्रमश: पठाइने राखेपले जनाएको छ । यद्यपि पेश्की फस्र्योट नगर्ने प्रशिक्षक र संघहरूलाई भने अहिले नै रकम नपठाइने भएको छ ।

पौडीकी गौरिका सिंहले ६२ लाख रुपैयाँ पाएकी छन् । उनले ४ स्वर्ण, २ रजत र ३ कांस्य जितेकी थिइन् । चार स्वर्णबराबर उनले ४४ लाख, दुई रजतको १२ लाख गरी उनले ५६ लाख पाएकी हुन् । उनले जितेको तीनै कांस्य रिलेमा थियो । दोहोरो स्वर्ण जितेका तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुभाष तामाङले समान २२ लाख पाएका छन् ।

‘हामीले एभरेस्ट बैंकमार्फत खेलाडीको घोषित पुरस्कार रकम उनीहरूको खातामा पठाइदिएका छौं । यही बैंकका खाता हुनेकोमा आजै (बुधबार) रकम जम्मा भएको छ र केहीले रकम पाइसकेको पनि बताइसके । अरु बैंकको खाता हुनेकोमा भोलि रकम जम्मा हुन्छ होला,’ राष्ट्रिय टिम तयारी शाखा प्रमुख राईले भने, ‘कसैले सिम नै बिग्रिएकाले रकम आएको थाहा नभएको पनि भनेका छन् । मन्त्रालयबाट नाम आएबमोजिम हामीले कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा रकम पठाइदिएका हौं ।’

१९ करोड ५३ लाख पुरस्कार जम्मा गरिएको उनले सुनाए । त्यो रकम ४ सय ३५ पदक विजेता खेलाडीका लागि हो । राखेपले ९२ खेलाडीको ३ करोड ६३ लाख तथा ८७ खेलाडीको ४ करोड ८२ लाख चैत ३० गते नै जम्मा गरिसकिएको जनाएको छ ।

कसैका नाम र एकाउन्ट नमिलेर रकम जम्मा नभएको पनि हुनसक्ने राई बताउँछन् । उनीहरूबाट खबर आएसँगै रकम जम्मा गरिने उनले बताए । परिषद्ले चैत मसान्तभित्र रकम जम्मा गरिदिने बताए पनि कोलेनिकाको सर्भर बिग्रिएका कारण खेलाडीको बैंकखातामा पुरस्कार हाल्ने काम २–३ दिन पछाडि सरेको थियो । करातेका दुई स्वर्णधारी मन्डेकाजी श्रेष्ठ र अर्का स्वर्णधारी विप्लवलाल श्रेष्ठले आफ्नो पुरस्कार रकम खातामा जम्मा भइनसकेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया