भारतीय क्‍वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर पुर्‍याउन गृह मन्त्रालयको निर्देशन

  बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : गृह मन्त्रालयले भारतको क्वारेन्टाइनमा रहेका शैलशिखर नगरपालिका–१, दार्चुलाका वासुदेव भट्टलाई आमाको मृत्युसंस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको छ । 

आमाको मृत्यु भएपछि भट्ट दार्चुलापारि भारत सरकारले बनाएको क्वारेन्टाइनमै किरिया बसेका छन् । उनी नेपाल प्रवेश नपाएपछि क्वारेन्टाइनमै आमाको किरिया बसेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भट्टलाई नेपाल ल्याउन आवश्यक समन्वयका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टलाई निर्देशन दिइएको बताए ।

‘मृत्युसंस्कार जस्तो संवेदनशील काममा आउनेलाई उतै रोक्ने भन्ने कुरै आउँदैन, यताबाट कुनै समस्या छैन,’ प्रवक्ता शर्माले कान्तिपुरसँग भने, ‘भारत सरकारले नै प्रवेश नदिएर उहाँ यता आउन नपाउनु भएको हो, हामीले दार्चुलाका प्रजिअलाई उताका समकक्षीसँग समन्वय गरेर क्वारेन्टाइनमा रहनु भएका भट्टलाई घरसम्म ल्याउने व्यवस्था मिलाउन बिहीबार बिहान नै निर्देशन दिइसकेका छौं ।’ गृहको निर्देशनपछि दार्चुला प्रशासनले यसको पहल गरिसकेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया