काभ्रेमा २ र धादिङमा १ जनाको रिपोर्ट पोजिटिभ

  बैशाख ०२, २०७७

काभ्रे, वैशाख २ : वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

स्वाबको नमुना संकलन गरी परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । बेथानचोक–५ का ती युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए। यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत ७ गते दुबईबाट फर्किएका थिए। नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर उनीहरु घर गएका थिए। उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखिएको छ।

चैत्र १ गतेदेखि विभिन्न मितिमा स्वदेश फर्किएका जिल्लाका २ सय ५१ गतको द्रूत परीक्षण भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए। फागुन १ देखि चैत्र ९ गतेसम्म नेपाल फर्किएका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा र धुलिखेल अस्पतालमार्फत निगरानी गरिएको थियो।

डा. झाका अनुसार, कुवेत, साईप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, मलेसिया, बहराइन, जोर्डन, न्यूजिल्याण्ड, बंगलादेश, चीन, माल्टा, मकाउ, माल्दिभ्स, युएई, ओमान, फ्रान्स, अस्ट्रेलिया, अमेरिका, जर्मन, उरुग्वे, थाईल्याण्ड, कतार, कम्बोडियालगायतका मुलुकहरुबाट जिल्लाबासीहरु स्वदेश फर्किएका छन्। पनौतीमा १ सय १, मण्डनदेउपुरमा ३८, पाँचखालमा ३५, बनेपामा ३४, रोशी गाउँपालिकामा २२, बेथान्चोकमा २२, तेमालमा १८, नमोबुद्ध नगरपालिकामा १८, महाभारतमा १४, खानीखोलामा ११, चौरीदेउरालीमा १० र भुम्लुमा ३ जना फर्किएका छन्। विदेशबाट फर्किएका केहीको स्वास्थ्य परीक्षण भए पनि लक्षण नदेखिएकाहरु होम क्वारेन्टाइनमा छन्।

यता, काठमाडौंको सनसिटी अपार्टमेन्टबाट धुलिखेल आएका एक व्यक्तिमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको छ। यो अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना संक्रमण भएको म‌ंगलबार पुष्टि भएकोथियो । कोरोना संक्रमण पुष्टि भएको अपार्टमेन्टको ११ औं तलामा बस्ने उनी स्थानीय प्रशासनले सिल गरेपछि बाहिरै परेका कारण धुलिखेलस्थित घर आएका थिए। द्रूत परिक्षणमा नेगेटिभ आए पनि उनको स्वाबको नमुना संकलन गरी पीसीआर विधीबाट परीक्षण गर्ने तयारी छ।

कोरियाबाट फर्केका धादिङका एक व्यक्तिमा कोरोना पोजेटिभ
धादिङको ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकीमा गरिएको -यापिड टेष्टमा एकजना व्यक्तिमा कोरोना भाइरस देखिएको छ । ज्वालामुखी गाउँपालिका अन्तरत वडा नं ३ मा रहेको मैदी स्वास्थ्य चौकीमा गरिएको परीक्षणमा दक्षिण कोरियाबाट गत फागन २० गते फर्किएका व्यक्तिमा कोरोना देखिएको हो ।

कोरोना देखिएका व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उहाँलाई जिल्ला अस्पताल धादिङबेसीको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । आइसोलेसनमा राखेपछि उहाँको थ्रोट स्वाबलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार टेकु अस्पतालले परीक्षण पश्चात पुष्टि गरेमा हामीले ज्वालामुखी गाउँपालिकामा विशेष अभियान चलाउने तयारी गरेका छौँ । -यापिड टेष्टमा पोजेटिभ देखिएका व्यक्तिमा पनि विस्तृत परीक्षणमा नेगेटिभ देखिन सक्ने भएकाले आतङ्कित नहुन र थप सचेत भएर बस्न पौडेलले आग्रह गर्नुभएको छ । -यापिड टेष्टको लागि धादिङमा ३ सय किट ल्याइएको थियो । जसमध्ये २ सय ५० वटा परीक्षण भइसकेको छ ।

तपाईको प्रतिक्रिया