टेस्ट क्रिकेटका अद्वितीय कीर्तिमान

  बैशाख ०२, २०७७

लन्डन, वैशाख २ : न्युजिल्यान्डको २६ रन र अरू अद्वितीय कीर्तिमान : मार्च २८, १९५५ । न्युजिल्यान्ड अकल्यान्डमा इंग्ल्यान्डसँग टेस्ट क्रिकेटमा २६ रनमै अलआउट भएको थियो ।

घरेलु टोली केवल २७ ओभरमा धराशायी भएको थियो । ६५ वर्षपछि पनि यो टेस्ट क्रिकेटको न्युन स्कोर कीर्तिमानमा यथावत् छ । कुनै टोलीले मन नपराइएको यस कीर्तिमान नजिक पुग्ने राष्ट्र थियो आयरल्यान्ड । गत वर्षमात्र लर्ड्समा इंग्ल्यान्डसँग आयरल्यान्ड ३८ रनमा अलआउट भएको थियो । पुरुष क्रिकेटका अन्य कीर्तिमानहरू जुन ५० वर्षदेखि अझै तोडिएका छैनन् ।

एक इनिङ्समा ब्याट्सम्यानको उच्च प्रतिशत रन

सन् १८७७ मा खेलिएको विश्वकै पहिलो टेस्टमा अस्ट्रेलियाले २ सय ४५ रन बनाउँदा चार्ल्स बेनरम्यानले एक्लै अविजित १ सय ६५ रन बनाएका थिए । उनले अस्ट्रेलियाको कुल रनमा ६७.३४ प्रतिशत योगदान दिए, जुन कीर्तिमान अहिलेसम्म यथावत् छ । माइकल स्लेटर यस नजिक पुगेका थिए । सिड्नी क्रिकेट मैदानमा १९९९ को टेस्टमा अस्ट्रेलियाले बनाएको कुल १ सय ८४ रनमा उनले अविजित १ सय २३ रन बनाएका थिए । अस्ट्रेलियाली टोलीका लागि उनले ६६.८४ प्रतिशत रनको योगदान दिएका थिए ।

सबैभन्दा बढी उमेरमा टेस्ट डेब्यु

विश्वको पहिलो टेस्ट १८७७ मा सुरुआत हुँदा इंग्ल्यान्डका जेम्स साउथटर्न ४९ वर्ष १ सय १९ दिनका थिए । टेस्ट क्रिकेटमा उनी अहिले पनि सबैभन्दा बढी उमेरमा ‘डेब्यु’ गर्ने खेलाडी हुन् । १९६० यता १५ पाका डेब्यु गर्ने खेलाडीको सूचीमा सबैभन्दा अघि दक्षिण अफ्रिकाका ओमार हेन्री छन् । उनले भारतविरुद्ध १९९२ मा आफ्नो पहिलो टेस्ट खेल्दा ४० वर्षका थिए ।

एकै शृंखलामा सबैभन्दा बढी रन

डन ब्रेडम्यानको अनेकौं कीर्तिमानमा एउटा नतोडिएको एकै टेस्ट शृंखलामा सर्वाधिक रन रहेको छ । उनले १९३० को एसेज शृंखलामा ९ सय ७४ रन बनाएका थिए । उनले प्रहार गरेका चारमध्ये तीन दोहोरो शतक थियो, त्यो एकै शृंखलाको अर्को कीर्तिमान हो । त्यसको ५० वर्षपछि अस्ट्रेलियाकै मार्क टेलर उनको नजिक आइपुगे । टेलरले १९८९ को एसेज शृंखलामा ८ सय ३९ रन बनाएका थिए । पछिल्ला दशकमा अस्ट्रेलियाकै स्टेभन स्मिथले दुई पटक ७ सय ५० भन्दा बढी रन बनाएका छन् ।

इनिङ्स र म्याचमा उत्कृष्ट बलिङ

इंग्ल्यान्डका जिम लेकरले १९५६ मा अस्ट्रेलियासँग ओल्ड ट्राफोर्डमा ५३ रन खर्चेर सबै १० विकेट लिएका थिए । उक्त टेस्टमा ९० रन खर्चेर कुल १९ विकेट लिएका थिए । अस्ट्रेलियाको झरेको २० विकेटमध्ये पहिलो इनिङ्सको एक विकेटमात्र लेकरको नाममा थिएन । इनिङ्स र टेस्टको उत्कृष्ट बलिङ प्रदर्शन लेकरले एकै टेस्टमा बनाएका थिए । भारतका अनिल कुम्बलेले पनि टेस्ट क्रिकेटमा सबै १० विकेट लिएका छन् । उनले दिल्लीमा १९९९ मा पाकिस्तानविरुद्ध ७४ रन खर्चेर १० विकेट लिने कीर्तिमान बनाएका थिए । तर लेकरले प्रथम श्रेणी क्रिकेटको एकै म्याचमा लिएको १९ विकेटको कीर्तमान पनि कसैले बराबरी गर्न सकेका छैनन् ।

लामो टेस्ट खेलजीवन

विल्फ्रिड रोड्सले ५८ टेस्ट खेले । तर त्यसका लागि उनले १८९९ देखि १९३० सम्म गरी झन्डै ३१ वर्ष मैदानमा बिताए । आफ्नो अन्तिम टेस्ट खेल्दा उनी ५३ वर्षका थिए । उनको यो कीर्तिमान छेउछाउ पुग्ने खेलाडी भारतका सचिन तेन्दुलकर हुन् । उनले २०१३ मा टेस्ट क्रिकेटबाट बिदा लिँदा २४ वर्ष मैदानमा बिताएका थिए ।

डेब्युमा उच्च स्कोर र उत्कृष्ट बलिङ

यो दुवै कीर्तिमान सय वर्षभन्दा पुरानो छ । अल्बर्ट ट्रोटले १८९५ मा आफ्नो पहिलो टेस्टमा ४३ रन खर्चेर ८ विकेट लिएका थिए । डेब्युमै गरेको यो प्रदर्शन अझै कसैले उछिन्न सकेका छैनन् । बब मासीले १९७२ र नरेन्द्र हिरवानीले १९८८ मा वेस्ट इन्डिजविरुद्ध पनि आफ्नो पहिलो टेस्टमा ८ विकेट लिएका थिए ।

तर उनीहरूको प्रदर्शन कम रन खर्चेको हिसाबमा ट्रोटभन्दा माथि रहेन । डेब्यु टेस्टमा सबैभन्दा उच्च स्कोरको कीर्तिमान टिप फोस्टर्सको नाममा छ । उनले १९०३ मा आफ्नो पहिलो टेस्टमा २ सय ८७ रन बनाएका थिए । दक्षिण अफ्रिकाका ज्याक रुडोल्फ उनको केही नजिक पुगेका थिए । रुडोल्फले २००३ मा बंगलादेशविरुद्ध आफ्नो पहिलो टेस्टमा अविजित २ सय २२ रन बनाएका थिए ।

एकै शृंखलामा सर्वाधिक विकेट

इंग्ल्यान्डका सिड्नी बार्न्सले १९१३–१४ को दक्षिण अफ्रिकाविरुद्ध चार टेस्ट शृंखलामा ४९ विकेट लिएका थिए, जुन एकै शृंखलामा सर्वाधिक विकेटको कीर्तिमान हो । पछिल्ला ३० वर्षमा केवल एक बलर ४० विकेटमा पुगेका छन् । अस्ट्रेलियाका शेन वार्नले २००५ को एसेजमा ४० विकेट लिएका थिए ।

एकै शृंखलामा सर्वाधिक शतक

क्लाइड वाल्कटले १९५५ मा अस्ट्रेलियासँगको ५ टेस्टको शृंखलामा ५ शतक प्रहार गरेका थिए । अन्य धेरै खेलाडीले एकै शृंखलामा ४ शतक प्रहार गरेका छन् । त्यसमा हालैका शृंखलामा भारतका विराट कोहली र स्टेभन स्मिथ छन् । वाल्कटले सोही शृंखलामा टेस्टको दुवै इनिङ्समा दुई पटक शतक बनाएका थिए, जसलाई कुनै खेलाडीले अहिलेसम्म भेट्टाउन सकेका छैनन् ।

लगातार धेरै शतक र ५ विकेट

एभर्टन विक्सले १९४८ मा लगातार ५ इनिङ्समा शतक प्रहार गरेका थिए, जुन कीर्तिमान टुट्न नसकेको ७२ वर्ष भइसकेको छ । भारतका राहुल द्रविडले २००२ मा लगातार चार इनिङ्समा शतक बनाएका थिए । चार्ली टनरले १८८८ मा लगातार ६ पटक इनिङ्समा ५ वा सोभन्दा बढी विकेट लिएका थिए । त्यसयता यो कीर्तिमान अपराजित छ । वेस्ट इन्डिजका शेन सिलिङफोर्डले २०१३ मा लगातार पाँचपल्ट इनिङ्समा ५ वा सोभन्दा बढी विकेट लिएका थिए ।

५ विकेट लिने कम उमेर र पाका खेलाडी

केही महिना अघिमात्र पाकिस्तानका १६ वर्षे सनसनी खेलाडी नसिम शाहले श्रीलंकाविरुद्ध ५ विकेट लिएका थिए । तर टेस्टको एकै इनिङ्समा सबैभन्दा कम उमेरमा ५ विकेट लिने कीर्तिमानबाट उनी केही दिनले मात्र चुके । त्यो कीर्तिमान उनकै देशका नसिम उल घानीको नाममा छ, जुन १९५८ मा बनेको थियो । त्यस्तै अस्ट्रेलियाका ब्रेट आइरनमोन्गरले ४९ वर्ष ३ सय ११ दिनका दिन दक्षिण अफ्रिकाविरुद्ध १८ रन खर्चेर ६ विकेटका साथै टेस्टमा ११ रन खर्चेर २४ विकेट लिएका थिए । उनी इनिङ्समा ५ विकेट र टेस्टमा १० विकेट लिने सबैभन्दा बढी उमेरका खेलाडी हुन् ।

पहिलो ठूलो टेस्ट शतक र लामो इनिङ्स

ग्यारी सोबर्सले आफ्नो पहिलो टेस्ट शतकलाई तेहरो शतकमा परिणत गरेका थिए । १९५८ मा पाकिस्तानविरुद्ध उनले अविजित ३ सय ६५ रन बनाएका थिए । त्यसयता दुई खेलाडीले आफ्नो पहिलो शतकलाई तेहरो शतकमा परिणत गरेका छन् । त्यसमा भारतका करुण नैरले २०१६ मा चेन्नईमा इंग्ल्ल्यान्डविरुद्ध अविजित ३ सय ३ रन बनाएका थिए । अन्य पाँच टेस्टमा उनले ७१ रनमात्र बनाउन सके ।

सबैभन्दा कम उमेरमा तेहरो शतक बनाउने सोबर्सको कीर्तिमान पनि अद्वितीय नै छ । सोबर्सले कीर्तिमान बनाएको त्यही टेस्टमा पाकिस्तान फलोअनमा परेपछि हनिफ मोहम्मदले ९ सय ७० मिनेट क्रिजमा डटेर ३ सय ३७ रन बनाएका थिए । क्रिजमा समय बिताएको हिसाबमा टेस्ट क्रिकेटको त्यो सबैभन्दा लामो इनिङ्स हो । आफ्नो टोली फलोअनमा पर्दा तेहेरो शतक बनाउने मोहम्मद एक्लो खेलाडी हुन् । पाकिस्तान र वेस्ट इन्डिजको त्यो यस्तो शृंखला हो, जहाँ दुई तेहेरो शतक बनेको थियो ।

एकै टेस्टमा दुई ह्याट्रिक

अस्ट्रेलियाका जिम्मी म्याथ्युजले १९१२ को ओल्ड ट्राफोर्ड टेस्टमा दक्षिण अफ्रिकाविरुद्ध दुई ह्याट्रिक विकेट लिएका थिए । यस्तो कीर्तिमान अरुले अझैसम्म गर्न सकेका छैनन् । म्याथ्युले दुवै ह्याट्रिक एकै दिन टेस्टको दुई इनिङ्समा लिएका थिए ।

(ईएसपीएन क्रिकइन्फो/इकान्तिपुर)

तपाईको प्रतिक्रिया