पैदलयात्री मजदुरलाई बुटवलमा खाना र यातायात व्यवस्था

  बैशाख ०२, २०७७

बुटवल, वैशाख २ : कोरोना भाइरसको सङ्क्रमण रोक्न मुलुकमा जारी तेस्रो चरणको लकडाउनका बेला गन्तव्यमा पुुग्न पैदल यात्रा गर्दै बुटवल आएका मजदुरको उद्धार गरिएको छ । कर्णाली र सुदुर पश्चिमका विभिन्न जिल्लाका १२० जना मजदुर ११ दिन लगाएर पैदलै हिँडेर सोमबार राति बुटवलसम्म आएका छन् ।

नियमित मजदुरी गर्दै आएका ठाउँमा काम रोकिएको, दैनिक खर्च सकिएको र काम खुल्ने कुनै टुङ्गो नभएपछि सामूहिकरुपमा घर जान हिँडेका उनीहरु सोमबार बुटवल आइपुगेका थिए । सोमबार राति करिब ९ बजे बुटवल आइपुगेका मजदुरलाई बुटवल उपमहानगरपालिकाले निःशुल्क खानाको ब्यवस्था गरेको थियो । उनीहरुको राति नै स्वास्थ्य जाँच गरेर बसको व्यवस्था गरी गन्तव्यसम्म पठाउने व्यवस्था मिलाइएको थियो ।

सोलुखुम्बुदेखि दोलखा, स्याङ्जा हुँदै उनीहरु बुटवलसम्म आइपुगेको राति सूचना पाएपछि उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले तत्कालै उनीहरु पुगेको स्थानमा बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष महेन्द्र लिगलाई संयोजन गरेर खानाको व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो ।

बुटवल–१ स्थित लायन्स आँखा अस्पताल परिसरमा उनीहरुलाई खाना खुवाउने प्रबन्ध मिलाइएको थियो । त्यहीँ नै उनीहरुको स्वास्थ्य जाँच गरेर तीन वटा बसमा चढाएर पठाइएको थियो । पैदल आएका मजदुर दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटी घर भएका हुन् । उनीहरु सोलुखुम्बु, काठमाडौँ, काभ्रे र नारायणघाटमा विभिन्न क्षेत्रमा मजदुरी गर्दै आएको बताएका छन् । उनीहरु पैदल यात्राका क्रममा बुटवलमा भेटिएका थिए ।

पैदलयात्री सबैलाई खाना खुवाएर, स्वास्थ्य जाँच गरेपछि घरसम्म पु¥याउन यातायातको समेत व्यवस्था मिलाइएको उपमहानगरपालिका प्रमुख सुवेदीले बताउनुभयो । लामो समयदेखि पैदल हिँडेका कैयौँ दिनसम्म खानासमेत खान नपाएका र बेखर्ची जस्तै बनेर हिँडेको देखेपछि खाना तथा यातायातको व्यवस्था मिलाइएको वडाध्यक्ष लिगलले बताउनुभयो ।

बुटवलमा गरिएको परोपकारले घरैको जस्तो याद आएको र थकाइसमेत मेटिएको श्रमिक हरिबहादुर चन्दले बताउनुभयो । बर्दिया घर भएका उनी साथीहरुसँगै सोलुखुम्बुबाट हिँडेर आउनुभएका थियो । काठमाडौँबाट हिँडेर आएका कञ्चनपुरका छोटेलाल चौधरी, कञ्चनपुरकै रामकिशन राना तथा बैतडीका अमबहादुर अवस्थीले पनि बुटवलमा भएको व्यवस्थाले अहिलेसम्मको पीडा भुलेको बताउनुभयो ।

मजदुरलाई बुटवलमा खाना खुवाएर गन्तव्यसम्मै पु¥याउने व्यवस्था गरेर नगरपालिकाले राम्रो काम गरेको भन्दै नागरिक अगुवा एवं बटौली संरक्षण तथा सम्बद्र्धन समितिका संयोजक रवीन्द्रगोपाल लाकौलले नगरपालिकाको कामको प्रशंसा गर्नुभयो ।

तपाईको प्रतिक्रिया