सभामुख, अध्यक्ष र कानूनमन्त्रीबीच छलफल

  चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति, सरकारले चालेका कदमहरु र सङ्घीय संसद्ले खेल्न सक्ने भूमिकाका विषयमा केन्द्रित रहेको सभामुखको सचिवालयले जनाएको छ ।

छलफलमा सभामुुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले सरकारले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा गरिरहेका कामहरु उपयुक्त रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वयकारी भूमिका खेल्न सुुझाव दिनुुभएको थियो ।

उहाँहरुले न्यून आय भएका, दैनिक ज्यालादारी मजदूरका विषयमा गम्भीर हुन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पनि सरकारलाई सुुझाव दिनुुभएको थियो । कानूनमन्त्री तुम्बाहाङफेलाई यही चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग समन्वय गर्ने जिम्मेवारी दिएको थियो ।

तपाईको प्रतिक्रिया