विश्‍वविद्यालयमा अनलाइन कक्षा

  चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : कोभिड–१९ को कारण देश लकडाउनमा रहेको बेला मुलुकका विश्‍वविद्यालयले शिक्षण गतिविधि अनलाइनबाट सुरु गरेका छन् । ती विश्‍वविद्यालयले कोरोना भाइरसकै कारण चैत, वैशाख र जेठसम्मका पूर्वनिधारित परीक्षा तालिका भने तत्कालका निम्ति स्थगित गरेका छन् । 

‘देश पूर्णरुपमा लकडाउन भएको सन्दर्भमा साथै लामो समयदेखि पठनपाठन स्थगित भएको हुँदा विद्यार्थी वर्गको शैक्षिक गतिविधिमा असर पारेको छ,’ सुदूर पश्चिमाञ्चल विश्‍वविद्यालय इन्जिनिरिङ संकाय, सिभिल इन्जिनिरिङ विभागले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘शिक्षा मन्त्रालय, उपकुलपति, डिनको निर्देशन तथा विभागीय छलफलबाट यस विभागले आज मिति २०७६ चैत ३० गतेदेखि अनलाइन कक्षाहरू सञ्‍चालन गर्ने व्यहोरा सम्बन्धित सरोकारवाला सबैलाई जानकारी गराइन्छ ।’

अनलाइन कक्षाहरूको समय तालिकाबारे प्रत्येक कक्षाका विद्यार्थी प्रतिनिधिमार्फत उपलब्ध गराइने विभागीय प्रमुख तोरणप्रसाद भट्टले विज्ञप्तिमा जनाएका छन् । लकडाउन भएपछि मुलुकका ११ वटै विश्वविद्यालयले शिक्षण पद्धतिमा प्रविधिको प्रयोगमा अग्रसरता देखाएका हुन् । खुला मोडबाट पठनपाठन गर्ने/गराउने नेपाल खुल्ला विश्‍वविद्यालयल दुई वर्षदेखि सुचारु छ । यसबाहेक त्रिभुवन, काठमाडौं, कृषि तथा वन विज्ञान विश्‍वविद्यालयले अनलाइनबाटै पठनपाठन थालेका छन् ।

त्रिभुवन र खुल्ला विश्‍वविद्यालयले संस्थागत रुपमै अनलाइनका माध्यमबाट कक्षा सुरु गरेका हुन् भने अन्यमा अध्यापकहरु सक्रिय भएर विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट अध्यापन थालेका छन् । संस्कृत, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम र लुम्बिनी बौद्ध विश्‍वविद्यालयले पनि अनलाइन कक्षा चलाउन तयारी थालेको जनाएका छन् ।

सबैभन्दा जेठो त्रिभुवन विश्‍वविद्यालयले धेरै वर्षदेखि दूरशिक्षाबाट शिक्षण गर्दैआएको भए पनि सबै संकायका विषयलाई प्रविधिमैत्री तुल्याउन सकेको छैन । तर अब हरेक विषय प्रविधिमैत्री तुल्याउन आवश्यक तयारीमा जुटेको त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसाल बताउँछन् । त्रिविको केन्द्रीय विभागका विज्ञान, व्यवस्थापन, मानविकी संकायले अनलाइनका माध्यमबाट पढाइ थालेको उनले जनाएका छन् । ‘सम्भव भएसम्म अनलाइन कक्षा चलाउन, सम्भव नहुने ठाउँमा तयारी अघि बढाउँदै लैजाने कुराकानी भएको छ,’ शिक्षाध्यक्ष भुसालले भने ।

उपत्यकाका सरस्वती, पाटन र नेपाल कमर्स क्याम्पसले समेत अनलाइनबाट अध्यापन थालेका हुन् । उपत्यका बाहिरका क्याम्पसहरुलाई पनि कक्षा चलाउन प्रक्रिया अघि बढाएको शिक्षाध्यक्ष भुसालले बताए । पहिलो चरणमा स्नातकोत्तर तहको कक्षा अनलाइनबाट चलाउने र क्रमश: स्नातक तहको कक्षा पनि सुरु गर्दै जाने गृहकार्य गरिएको हो । ‘कोर्स बाँकी भएका कक्षाहरु अनलाइनबाटै सिध्याउन भनेका छौं,’ उनले भने ।

लगडाउनले शैक्षिक कार्यक्रम समेत बन्द गरेको खुल्ला विश्‍वविद्यालयले पनि मंगलबारबाट अनलाइन पठनपाठनलाई निरन्तरता दिन थालेको छ । विश्‍वविद्यालयले सूचना जारी गरेर अनलाइन शिक्षण र प्रशिक्षण जारी राख्ने जनाएको छ । केन्द्रीय कार्यालय बन्द रहे पनि विगतमा जस्तै अनलाइन कक्षालाई भने निरन्तरता दिने रजिष्ट्रार कमल ढकालले जनाए ।

काठमाडौं विश्‍वविद्यालयमा ६ प्राध्याकपले अनलाइन कक्षा चलाएका छन् । प्राध्यापक बालचन्द्र लुइँटेलले स्नातकोत्तर तहमा शिक्षाशास्त्रका विद्यार्थीलाई घरमै बसेर पढाउने गरेका छन् । प्राध्यापक मनिष पोखरेलले कम्प्युटर, प्राध्यापक भोला थापाले मेकानिकल र उपप्राधयापकद्वय अनिष घिमिरे र विकास अधिकारीले वातावरण इन्जिनियरिङको अध्यापन अनलाइनबाट गराउन थालेका हुन् । ‘लकडाउन अनिश्चित बन्दै गएपछि पठनपाठनलाई निरन्तरता दिनुपर्छ भनेर समय तालिका बनाएरै पढाइ थालेका हौं,’ अधिकारीले कान्तिपुरसँग भने । हरेक दिन निश्चित समय कक्षा सञ्चालन गरिने उनीहरुले बताए ।

कृषि तथा वन विज्ञान विश्‍वविद्यालयले पनि अनलाइनबाट कक्षा सञ्चालन गर्न पदाधिकारीबीच छलफल अघि बढाएको उपकुलपति शारदा थपलियाले जानकारी दिइन् । स्नातकोत्तर तहमा भने थोरै विद्यार्थी रहेकाले अनलाइनबाट पढाइ थालेको उनले जनाइन् । ‘विद्यार्थीहरु दुर्गममा छन्, उनीहरुलाई कसरी इन्टरनेटको पहुँच ल्याउन सकिन्छ भनेर अध्ययन थालिरहेका छौं,’ उनले भनिन् ।

सबै जसो विश्‍वविद्यालयका पदाधिकारीले स्काइप मिटिङ बसेर अनलाइन माध्यममा जान विकल्पहरुबारे अध्ययन गरिरहेको जनाएका छन् । अनलाइनबाटै कक्षा सञ्चालन गर्न सके पनि प्रयोगात्मक कक्षा र परीक्षा सञ्चालन गर्न सम्भव नहुने उपकुलपति थपलियाले बताइन् । उनले भनिन्, ‘कोर्स बाँकी रहेका कक्षाको पढाइ अनलाइनबाट गर्न प्राध्यापकहरुलाई निर्देशन दिइएको छ ।’

सुदूरपश्चिम विश्‍वविद्यालयले तत्काल सिभिल इन्जिनियरिङ विषयको सुरु गरिएको र अन्य संकाय तथा विषयको समेत अनलाइन माध्यमबाट पठनपाठनका निम्ति अध्ययन थालेको उपकुलपति अमरराज जोशीले जनाए । ‘हाम्रा क्याम्पस र विद्यार्थी दुर्गम/दुर्गम भेगमा मात्रै छन्,’ उनले भने, ‘इन्टरनेटलाई उपयोग गरेर कसरी कक्षा लिन सकिन्छ भन्ने प्रयास गरिरहेका छौं ।’

सुदूरपश्चिम प्रदेश कोरोना भाइरसको उच्च जोखिममा रहेकाले प्राध्यापक र विद्यार्थीलाई स्वयंसेवकको रुपमा आफ्नो क्षेत्रमा परिचलान हुन निर्देशन दिइएको छ । विश्‍वविद्यालयका इन्जिनियिरङ युनिटका प्राध्यापक, विद्यार्थीले कोरोना भाइरसको टेष्ट बुथ बनाएर महाकाली अस्पताललाई हस्तान्तरण गरेका छन् । माइक्रोबायोलोजी गुप्रका विद्यार्थीले सेनिटाइजर उत्पादन थालेको जोशीले जनाए । ‘हाम्रा १५ मध्ये अधिकांश क्याम्पसमा क्‍वारेन्टाइन बनाइएको छ, अनलाइनमा कसरी जान सकिन्छ भनेर छलफल गरिरहेका छौं,’ उनले भने ।

पूर्वाञ्चल विश्‍वविद्यालयले पनि एमफिलको कक्षा अनलाइन माध्यमबाट सुरु गरेको छ । स्नातकोत्तर र स्नातक तहको पढाइसमेत अनलाइन प्रविधिमा लैजान पदाधिकारीबीच छलफल चलिरहेको रजिष्ट्रार प्रमिला भण्डारीले जानकारी दिइन् । विश्‍वविद्यालयले डिन कार्यालय, क्याम्पस, प्राध्यापकसँग कार्ययोजना मागेर अनलाइन कक्षा सञ्चालनको सम्भावनाको अध्ययन भइरहेको इकान्तिपुर अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया