कोरोना परीक्षणका लागि भैरहवामा अत्याधुनिक पिसिआर मेसिन

  चैत ३०, २०७६

भैरहवा, चैत ३० : कृषि तथा पशुपन्छीविकासमन्त्री घनश्याम भुसालले कोरोना परीक्षणमा तीव्रता दिनका लागि भैरहवामा अत्याधुनिक पिसिआर मेसिन पठाउनुभएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि चेकजाँचलाई तीव्रता दिन मन्त्री भुसालको पहलमा आरटी पिसिआर मेसिन भैरहवा ल्याइएको हो ।

नेपाल कृषि अनुसन्न्धान परिषद बीउ विज्ञान प्रविधि महाशाखा खुमलटारको मोलेकुलर ल्यावमा धएको आरटी पिसिआर मेसिन भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको लागि हस्तान्तरण गरिएको कृषिमन्त्री भुसालकास्वकिय सचिव मनोज कुमार रिजालले बताउनुभयो ।

कोरोना परीक्षणका लागि अत्याधुनिक मानिएको आरटी पिसिआर मेसिनले एकपटकमा ९६ वटा परीक्षण गर्न सक्छ । यो उपकरणमा ९६ वटा स्वाब परीक्षण गर्न पाँच घण्टासम्म लाग्ने गर्दछ । प्रदेश सरकारले कोरोना भाइरस परीक्षण गर्नका लागि आरटी पिसिआर मेसिन खरीद गर्ने तयारी गरिरहेका बेला मन्त्री भुसालले मेसिन पठाउनुभएको हो ।

मेसिनको सहयोगले द्रुत गतिमा कोरोना भाइरसको परीक्षण हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताउनुभयो । यसअघि जनस्वास्थ्य प्रयोगशालाका लागि संघीय सरकारले पनि आरटी पिसिआर मेसिन नै पठाएको थियो । उक्त मेसिनले एक दिनमा १६ वटा मात्रै नमूना परीक्षण गर्न सक्छ । अव दुईवटा मेसिनको सहायताले कोरोना परीक्षण तीव्र गतिमा हुने गिरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया