दार्चुलामा ४ सय ६० जनाको स्वाब संकलन

  चैत २९, २०७६

दार्चुला, चैत २९ : कोरोना भाइरस परीक्षणका लागि दार्चुलामा शनिबार ४ सय ६० जनाको स्वाब संकलन गरिएको छ। भारतलगायत अन्य मुलुकबाट जिल्ला भित्रिएर क्वारेन्टाइनमा बसेका र होम क्वारेन्टाइनमा रहेका स्थानीयको स्वाब संकलन गरिएको हो । 

सुदूरपश्चिमका विभिन्न नाका प्रयोग गरी भारतबाट स्वदेश आएकाहरुमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको छ। जिल्लाका ९ वटा स्थानीय तहको पायक पर्ने ६ स्थानबाट कोरोना परीक्षणका लागि नमुना संकलन गरेर स्वास्थ्यकर्मीहरुको टोली फर्किएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। सदरमुकाम खलंगासँगै गोकुलेश्वर, लटिनाथ, दल्लेक, हिकिला र हुतीबाट स्वाब संकलन गरिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार सबैभन्दा बढी मार्मा गाउँपालिकाको लटिनाथमा दुई महिलासहित १ सय ४५ जनाको स्वाब संकलन गरिएको छ। लटिनाथमा मार्मा गाउँपालिकाका १ सय ३९ र अपीहिमाल गाउँपालिकाका ६ जनाको स्वाब संकलन गरिएको छ। त्यस्तै महाकाली नगरपालिकामा १२ जना महिला, २ जना बालकसहित १ सय ११ जनाको स्वाब संकलन गरिएको छ। शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा ८३ जनाको स्वाब संकलन गरिएको छ।

शैल्यशिखर नगरपालिकाबाट ६३ जना, मालिकार्जुन गाउँपालिकाबाट १६ जना र लेकम गाउँपालिकाबाट ४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।त्यसैगरी नौगाड गाउँपालिकाको दल्लेकमा ४५ जना, दुहु गाउँपालिकाको हिकिलामा ३८ जना र ब्यास गाउँपालिकाको हुतीमा ३८ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए। संकलित स्वाब शनिबार नै काठमौं पठाएको उनको भनाइ छ।

क्वारेन्टाइनमा रहेका ५ सय १० जनाकै स्वाब संकलन गरिने भनिए पनि होम क्वारेन्टाइनमा बसेका सबै मानिस स्वाब संकलन केन्द्रमा नआएको हुनाले ४ सय ६० जनाको संकलन गरिएको हो। महाकाली नदीमा पौडी खेलेर, तुइन तथा ट्युब तरेरसमेत मजदुरहरु घर फर्किएका छन्। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारत लगायतका ठाउँबाट दार्चुलामा १ हजार ४ सय ७ जना भित्रिएका छन्। तर नदीबाट अवैध रुपमा भित्रिएका व्यक्तिको तथ्यांक भने नसमेटिएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया