काँग्रेसद्वारा जनसम्पर्क समितिका प्रमुखसँग छलफल

  चैत २९, २०७६

काठमाडौँ, चैत २९ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले काँग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष÷संयोजकसँग विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा भिडियो कन्फ्रेन्समार्फत छलफल गर्नुभएको छ ।

छब्बीस देशका जनसम्पर्क समितिका अध्यक्ष÷संयोजकले भाग लिनुभएको उक्त छलफलमा विश्वभर रहेका नेपालीमा कोभिड –१९ बाट सिर्जित विभिन्न समस्या र तीनका समाधानका बारेमा छलफल भएको पार्टी कार्यालयले जनाएको छ ।

संयोजक भट्टराईले विदेशमा रहेका नेपालीको समस्याका सम्बन्धमा काँग्रेस गम्भीर र संवेदनशील रहेको बताउँदै विदेशमा रहेका नेपालीलाई सचेत गराउँदै जनसम्पर्क समितिले सहयोग गरिरहेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको थियो । उहाँले वर्तमान जटिल परिस्थितिमा जनसम्पर्क समितिका पदाधिकारी र सदस्यलाई एकताबद्ध भएर काम गर्नसमेत आग्रह गर्नुभएको थियो ।

जनसम्पर्क समितिका अध्यक्षहरुले आआफ्नो देशमा भएका समस्याका बारेमा अवगत गराउनाका साथै छलफल अत्यन्त महत्वपूर्ण भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

भिडियो कन्फ्रेन्समा आनन्द विष्ट (अमेरिका), पदमसुन्दर गुरुङ (बहराइन), सीता सापकोटा (बेल्जियम), लेखबहादुर गुरुङ (मकाउ), कृष्ण गिरी (अस्ट्रेलिया), बुद्धिप्रकाश ओली (क्यानाडा), वीरेन्द्रसिंह कार्की (डेनमार्क), भुवानीप्रसाद तिमिल्सिना (युएई), आस्थाविन्दु मल्ल (दक्षिण कोरिया), जितेन्द्र शाही (नर्वे), सुधीर राना (फ्रान्स), श्याम सापकोटा (स्विट्जरल्याण्ड), शङ्कर न्यौपाने (कतार), शिखर खड्का (जर्मनी), इन्द्र शर्मा (स्पेन), सालिक चापागाईं (ओमान), खगेश्वर अधिकारी (इजरायल), चोलाकान्त पङ्गेनी (मलेसिया), राजेन्द्र विरही (कुबेत), सीता अर्याल (साइप्रस), विनोद घिमिरे (पोर्चुगल), प्रेम गुरुङ (नेदरल्याण्ड), रोशन केसी (जापान) लगायत नेपाली जनसम्पर्क समितिका अध्यक्ष एवं संयोजक सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया