निजी विद्यालयको शुल्क छुट गर्न निर्देशन

  चैत २९, २०७६

काठमाडौं, चैत २९ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत महिनाको शिक्षण शुल्क छुट गर्न निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । कक्षा १२ सम्मको एक महिनाको आवास बाहेकको अन्य सबै शुल्क मिनाह गर्न केन्द्रले पत्राचार गरेको हो ।

७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै केन्द्रले चैत महिनाभित्र शुल्क मिनाह गरेर प्रतिवेदन पेस गर्न तोकेता गरेको छ । कोभिड–१९ भाइरसको संक्रमणका कारण चैत पहिलो सातादेखि नै मुलुकभरका विद्यालय बन्द छन् । केन्द्रका निर्देशक गेहनाथ गौतमले स्थानीय तहअन्र्तगत शिक्षा शाखा/विभागलाई शुल्क मिनाह कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने निर्णय गरेको थियो । प्याब्सन, एनप्याब्सन र हिसानसँग समन्वय गरेर शुल्क छुट गर्न निर्देशन दिइएको छ ।

अभिभावकहरुले भने केहि निजी विद्यालयहरुले चैत महिनाको शुल्क यसअघि नै लिइसकेको गुनासो गरेका छन् । स्कुलहरु पनि लकडाउनमा रहेकाले सहज परिस्थिति आएपछि मात्रै यस विषयमा छलफल गर्न उपर्युक्त हुने प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गानालाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया