कास्कीमा कोरोना -यापिड परीक्षण शुरु

  चैत २९, २०७६

कास्की, चैत २९ : जिल्लामा कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि -यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) शुरु भएको छ ।

शुक्रबार रुपा गाउँपालिबाट परीक्षण शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । रुपाका दुई वडाका आठ जनाको परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्यालय प्रमुख बाबुराम आचार्यले बताउनुभयो ।

चैत महिनामा विदेशबाट आएका सबैको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि परीक्षण गर्ने सरकारी नीतिअनुसार जिल्लामा लकडाउनअघि आएका सबै जनाको परीक्षण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । आरडिटी किटमार्फत कोरोना परीक्षण गर्दा १५ मिनेटमै नतिजा आउने बताइन्छ ।

“जिल्लामा आरडिटी परीक्षण शुरु भएको छ । सम्बन्धित स्वास्थ्यकर्मीलाई कार्यालयबाट परीक्षणको तालिम दिएर पठाएका छौँ । तीन-चार दिनभित्रमा विदेशबाट आएका र परीक्षणको मापदण्डमा पर्नेको जाँच गरिसक्छौँ”, आचार्यले भन्नुभयो ।

नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित फेला परेका नौमध्ये आठ जना विदेशबाट आएका रहेकाले चैत महिनायता विदेशबाट फर्किएकाको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि सबैको परीक्षण गर्न लागिएको हो ।

पोखरा महानगरपालिकाभित्र परीक्षण मापदण्डमा परेका ३८८ रहेकामा सीमित मात्रामा किट आएकाले परीक्षण शुरु गर्न अन्योल भएको स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताउनुभयो । महानगरलाई २४० थान मात्र किट प्राप्त भएकाले सबैको परीक्षण गर्न कठिनाइ हुने भएकाले व्यक्तिगत रेकर्ड हेरेर भेरिफाइ गरी मात्र परीक्षण शुरु गर्ने तयारी गरिएको बताइएको छ ।

सङ्घीय सरकारले प्रदेश सरकारलाई कोरोना -यापिड टेष्टका लागि पाँच हजार थान किट बिहीबार उपलब्ध गराएसँगै प्रदेशका नौ जिल्लामा परीक्षण शुरु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । मनाङ र मुस्ताङमा समेत आजदेखि परीक्षण हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया