रातो मच्छिन्द्रनाथ जात्रा स्थगित

  चैत २८, २०७६

काठमाडौं, चैत २८ : ललितपुरको सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथ जात्रा स्थगित भएको छ । शुक्रबारदेखि सुरु हुने रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जनाएको छ ।

बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गराएर शुक्रबारदेखि रथ निर्माणको काम गर्नुपर्ने थियो । तर कोरोना भाइरसको महामारीका कारण सिर्जना भएको विषम परिस्थितिका कारण रथको जग राख्ने र निर्माण कार्य स्थगित भएको हो ।

स्थगित भएको सो रथ निर्माणको काम लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर सुरु गरिने निर्णय भएको गुठी संस्थान र ज्यापु समाजले विज्ञप्तिमा जनाएको छ । हामोकी अर्थात् रथको जग हाल्ने अघिल्लो दिन बिहीबारसम्म रथयात्रा गराउने वा नगराउने विषयमा अन्योल नै थियो ।

लिच्छवी कालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । वैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया