मन्त्री मगरलाई स्वास्थ्य सामग्री प्रदान

  चैत २७, २०७६

काठमाडौं, चैत २७ : नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले कोभिड–१९ को परीक्षण एवं उपचारमा खटिएका सुदूरपश्चिम प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य मेडिकल सामग्री सहयोग गरेको छ ।

सङ्घले आज ती सामग्री खानेपानीमन्त्री बीना मगरलाई हस्तान्तरण गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणको समन्वय गर्न सरकारले सो प्रदेशका लागि खानेपानी मन्त्री मगरलाई जिम्मा दिएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सङ्घले उपलब्ध गराएको २०० थान पिपिई लगायतका सामाग्री खानेपानी मन्त्री मगरलाई आज हस्तान्तरण गर्नुभएको हो ।

कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि प्राप्त भएको व्यक्तिगत सुरक्षा सामाग्रीलगायत अन्य सामान मन्त्री मगरले सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्नुहुनेछ । ती स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री मगरले संस्थालाई धन्यवाद दिँदै विपद्को समयमा आआफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

उहाँले यस किसिमको सहयोगले कोरोना सङ्क्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घले सहयोग गरेको सामग्रीमा पिपिई सेट पञ्जा, एप्रोन, मास्क, चस्मा, टोपी र स्यानिटाइजरलगायत छन् ।

तपाईको प्रतिक्रिया