भोक्राहा नरसिंह गापामा जनसंख्या भन्दा बढी राहत लिने, राहत वितरण अन्यौल

  चैत २७, २०७६

इनरुवा, चैत २७ : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा वडास्तरबाट गरिएको लगत संकलनलाई लिएर असमञ्जस्यताको अवस्था सिर्जना हुन पुगेको छ । गाउँपालिकाले यतिका दिन सम्म राहत वितरण नगरेको भनी सर्वसाधारणले आलोचना गरिरहँदा वडाले तयार पारेको विवरणहरु वडाको जनसंख्या भन्दा बढी राहत लिनेको संख्या आएकोले राहत वितरणमा थप अन्यौलता बढाएको छ ।

वडागत रुपमा तयार पारिएको विवरणका आधारमा ८ वटा वडा रहेको भोक्राहा नरसिंह गाउँपालिकामा झण्डै आठ हजार घरधुरीलाई आधार मानिएको छ । सोही अनुपातमा राहत पाउनु पर्ने परिवारको लगत संकलन गरी वडाले सिफारिस गरेकोमा गाउँपालिकाले भने उक्त संख्या अत्याधिक र आधिकारिक नभई झुटो भएको भन्दै तत्काल राहत वितरण नगर्ने जनाएको छ ।
कुल घरधुरी भन्दा बढी संख्यामा वडागत रुपमा राहतकालागि सिफारिस भएको पाइएपछि तत्कालकालागि राहत वितरणको प्रकृया अघि नबढाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले बताउनुभयो ।

घिमिरेका अनुसार सुनसरीको भोक्राहाको कुल जनसंख्या ४१ हजार ९ सय ५० रहेको छ । । गाउँपालिकामा ७ हजार १ सय १९ घरधुरी रहेको छ । जसमध्ये विपन्न र गरिव तथा ज्याला मजदुरी गर्ने परिवारलाई वितरण गरिनुपर्नेमा सबैजसोको नाम समावेश भएको पाइएकाले राहत वितरणको कार्य आफुले अघि बढाउन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयोे ।

प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार वडागत रुपमा आएको विपन्न र गरिव परिवारको सूची पत्याउनै नसकिने र आश्चर्यजनक छ । गाउँपालिकामा भएको कुल परिवार सँख्या भन्दा बढीको नाम समावेश भएर राहतको दावी गरिएकाले समेत विवरण झुटो रहेको घिमिरेको भनाई छ । उहाँने भन्नुभयो, “वडाबाट प्राप्त विवरणलाई हेर्ने हो भने गाउँपालिकामा रहेका सबै परिवारनै विपन्न र गरिब छन भन्ने देखाउँछ । जुन कुरा जोकोहीले पत्याउनै नसकिने र नितान्त झुटोे छ ।

उहाँले राहत वितरणको कार्य अघि बढाउन नसकेको विषयमा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराएको बताउनुभयो । यहाँका ८ वटा वडा रहेको भोक्राहा नरसिंह गाउँपालिकामा अन्य पालिका सरह स्थानीय वडाले विपन्न र गरिव परिवारको लगत संकलन गरेको थियो । सबै वडाबाट प्राप्त संख्याका आधारमा सरकारी घोषणा अनुरुप खाद्यान्न सामाग्री वितरणको तयारी गरेको गाउँपालिकाले सोचेभन्दा बढीको सूची प्राप्त भएपछि तत्कालकालागि राहत वितरणको कार्यनै रोक्नु परेको जनाएको छ । लगत संकलनमा खटिएका व्यक्तिले दिएको सूचना अनुसार एकै परिवारमा रहेका व्यक्तिलाई समेत फरक फरक परिवार देखाई राहत सूचीमा समावेश गराइएको छ ।

उता गाउँपालिका प्रमुख महेन्द्र यादवले विपन्न परिवकारको नामावली संकलनको क्रममै रहेको बताउनुभयो । उहाँले राहत विपन्न र गरिव परिवारको पहिचान गरी वितरण गरिने बताए । गाउँपालिकाका अनुसार राहत कोषमा ५० लाख छुट्याईएको छ । आवश्यक पर्दा अन्य रकम समेत जुटाउने सकिने बताएपनि वडास्तरबाट प्राप्त सूचीका आधारमा भने राहत वितरण गर्न नसकिने स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया