कोरोनाविरुद्ध योजना प्रभावकारी

  चैत २७, २०७६

हेटौँडा, चैत २७ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन लकडाउनलाई अझ प्रभावकारी बनाउने बताउनुभएको छ ।

सामाजिक दूरी कायम गर्ने तथा विदेशबाट फर्किएर आएकासँगै अन्यको स्वास्थ्य जाँचको रणनीति बनाएर काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । सरकारले कोरोना महामारीको सङ्क्रमणलाई फैलिन नदिन हरसम्भव प्रयास गरिरहेको भन्दै उहाँले कोरोना महामारी विरुद्धको लडाइँमा नागरिकको महìवपूर्ण भूमिका रहने बताउनुभयो ।

पचास करोडको कोष
सङ्क्रमण फैलन नदिन र आवश्यक उपचारको व्यवस्था गर्न बागमती प्रदेश सरकारले कोरोना अस्पताल, क्वारेन्टाइन, आइसोलेसन र आईसीयू कक्ष निर्माण, स्वास्थ्यकर्मीका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री एवं औषधि तथा उपकरणको प्रबन्ध गर्ने आधारभूत कार्य सम्पन्न गरेको छ ।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन सरकारले यसका शङ्कास्पद बिरामीको परीक्षण दायरा बढाउने रणनीति बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “परीक्षण बढाउने रणनीति प्रदेश सरकारले लिएको छ, अब सघन रूपमा परीक्षण गर्दै छौँ ।”

कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले ५० करोड रुपियाँको कोष स्थापना गरेको छ । कोषमा विभिन्न व्यक्ति, सङ्घसंस्था, दाता र निजी क्षेत्रबाट एक करोड रुपियाँ कोषमा जम्मा भइसकेको छ ।

 अलग्गै अस्पताल
सङ्घीय सरकारले गरेको व्यवस्थाबाहेक हेटौँडाको कीटजन्य रोग अनुसन्धान केन्द्र (भीभीडी आरटीसी)मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड–१९ को परीक्षण सुरु गरिएको छ । उहाँले प्रयोगशालाबाट प्रदेशका मकवानपुर, चितवन र सिन्धुलीसँगै प्रदेश २ का बासिन्दासमेत लाभान्वित हुने जानकारी दिनुभयो । यस्तै चितवनको भरतपुर र काभ्रेको धुलिखेल अस्पतालमा यसको परीक्षण सुरु भएको छ ।

प्रदेशका १३ वटै जिल्लामा प्रदेश सरकार र स्थानीय तह आफँैले साथै स्थानीय तहसँगको समन्वयमा आइसोलेसन र क्वारेन्टाइन वार्ड तयार भएको छ । आईसीयू र भेन्टिलेटर सहितको आईसीयू कक्ष निर्माण भएका छन् । भरतपुर महानगरपालिकासँगको सहकार्यमा प्रदेश सरकारले ७० बेडको छुट्टै कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।

प्रदेशमा हालसम्म तीन हजार २७६ क्वारेन्टाइन, ९५८ आइसोलेसन, ४५६ आईसीयू बेड तयारी अवस्थामा रहेका छन् । आइसोलेसनका बिरामीको स्वाब परीक्षणका लागि पठाउन दक्ष जनशक्तिको व्यवस्था गरिएको छ ।

 जनशक्ति तयारी अवस्थामा
मुख्यमन्त्री पौडेलले कोरोना सङ्क्रमितको उपचारका लागि कन्सल्ट्यान्ट फिजिसियन, एनेस्थ्योलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ सुपरभाइजर, स्टाफ नर्स लगायतका गरी करिब आठ हजार जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस विषम परिस्थितिमा प्रदेशमा अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी व्यवस्था र मौज्दात गरिएको छ ।”

स्थानीय तहको भूमिका महìवपूर्ण
बागमती प्रदेशका सबै जिल्ला, नगर र वडा तहसम्म विपद् व्यवस्थापन समितिका बैठक भएका छन् र बैठकद्वारा जनप्रतिनिधि एवं सामाजिक क्षेत्रको पहलकदमीमा कोरोना महामारीको महाविपत्तिलाई सामना गर्न योजनाबद्ध प्रयास सङ्गठित रूपमा गरिएको छ । उहाँले भन्नुभयो, “अहिलेको समयमा सबैभन्दा महìवपूर्ण भूमिका स्थानीय तहको छ ।”

 प्रबन्ध मिलाएका छौँ
लकडाउनका कारण विपन्न र दैनिक ज्यालादारी गर्नेको दैनिकी कष्टकर बन्ने क्रम सुरु भएको भन्दै उहाँले सङ्कटको समयमा बजार व्यवस्थापनसँगै राहत वितरण सबैभन्दा चुनौतीपूर्ण देखिएको बताउनुभयो । जनतालाई राज्यको अभिभावकत्व महसुस गराउँदै दैनिक ज्यालादारी गरेर जीवनयापन गर्दै आएका र विपन्न जनतालाई खाना लगायतको व्यवस्था गर्नसमेत स्थानीय सरकारमार्फत पहिचान तथा सूचीकृत गरी कोही भोको नरहने गरी सङ्घ, प्रदेश र स्थानीय तहद्वारा एकीकृत व्यवस्था मिलाइएको छ ।

कतिपय स्थानीय तहमा खाद्यान्न वितरण सुरु गरिएको छ । साथै अनाथालय र वृद्धाश्रममा खाद्यान्नको व्यवस्थाका लागि आवश्यक तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारको तर्फबाट खाद्य सामग्री, औषधोपचार, इनधन लगायतको अत्यावश्यक सामग्रीको अभाव हुन नदिन आवश्यक तयारी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा सम्भावित कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन, ग्यास आपूर्तिकर्ता र ग्यास उद्योगको अनुगमन तथा स्टक चेकजाँच गरिरहेका छौँ ।

तपाईको प्रतिक्रिया