विदेशबाट फर्केका सबैलाई क्वारेन्टाइनमै, औषधि र सुरक्षा भत्ता घरघरमै

  चैत २७, २०७६

काभ्रेपलाञ्चोक, चैत २७ : विदेशबाट हालसम्म घर फर्किएका सबैको स्वास्थ्य परीक्षण गरी एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएकोे छन् । यसमध्ये चैत महिनामा मात्रै २५१ विदेशबाट घर फर्किएको पाइएको कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घर फर्केका सबैको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको छ, उनीहरुको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गरिरहेका छन् ।”

कोरोना भाइरस (कोभिड—१९)को जोखिम हुन नदिन यहाँका स्थानीय तहले विदेशबाट आएका सबैलाई सम्पर्कमा ल्याएका हुन् । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई आफ्ना क्षेत्रमा विदेशबाट घर फर्केकाको विवरण सङ्कलन गर्न चैत दास्रो साता पत्राचार गरेपछि पहिचान गर्न थालिएको हो । “कोराना भाइरसको जोखिम बढ्दै गएपछि चैत महिनामा विदेशबाट अधिकांश घर फर्किएको पाइएको छ”, प्रमुख डा झाले भन्नुभयो ।

यसअघि मण्डनदेउपुर नगरपालिकामा विदेशबाट फर्किएका आठलाई क्वारेन्टाइनमा राखिएकोमा सातलाई १४ दिनका बसाइँपछि स्वास्थ्य जाँच गरी घर फर्काइएको नगर उपप्रमुख निर्मला शाहीले जानकारी दिनुभयो । “बाँकी एक पुरुषको आज वा भोलि स्वास्थ्य जाँच गरी घर फर्काइनेछ”, उहाँले भन्नुभयो । यसपछि यहाँका सबै क्वारेन्टाइन खाली हुनेछ ।

यसैबीच, स्थानीय तहले हालसम्म २८८ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरेका छन् । ती मध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरिएको हो । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् ।

धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शीर मेमारियल अस्पतालमा पाँच श्ययाको आइसोलेसन कक्ष व्यवस्थित गरिएको छ । धुलिखेलमा हालसम्म ओइसोलेसनमा राखी कोरोना भाइरस परीक्षण गरिएका १७ सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

विदेशबाट फर्किएर सम्पर्कमा आएकाको हालसम्मको प्रारम्भिक स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । जिल्लामा २७ देशबाट घर फर्किएको पाइएको हो भने भारतपछि दुबईबाट फर्कनेको सङ्ख्या अधिक रहेको देखिन्छ ।
घरमै औषधि र सुरक्षा भत्ता

नमोबुद्ध नगरपालिकाले आफ्ना क्षेत्रमा रहेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधी पु¥याउन थालेको छ । ‘लकडाउन’का कारण स्थानीय दीर्घरोगीले औषधी उपलब्ध गराउन नसकेक्ने भएपछि नगरले उनीहरुको घरमै औषधी पु¥याउन थालेको हो ।

नियमित औषधी सेवन गर्दै आएका दीर्घरोगीको स्वास्थ्य अवस्था थप नबिग्रियोस् भन्ने उद्देश्यले दीर्घरोगीको घरमै औषधी पु¥याउन थालिएको नगरप्रमुख टीपी शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “रोगीलाई चिकित्सकले दिएको प्रेस्क्रिप्शनका आधारमा निःशुल्क औषधी उपलब्ध गराइरहेका छौँ ।” उहाँका अनुसार दीर्घ रोगी पहिचान अभियानसँगै औषधी वितरणको काम थालिएको हो ।

नगरले हाल मधुमेय, रक्तचाप, बाथ, छारेरोग तथा मुटुरोगीका विरामीलाई उनीहरुको घरमै औषधी निःशुल्क उपलब्ध थालेको हो । वडाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले रोगीको विवरण पहिचान गर्दै औषधी वितरण गरिरहेको शर्माले बताउनुभयो । उहाँले लकडाउनका कारण समस्यामा परेकालाई सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्न नदिन वडा कार्यालयलाई परिपत्रसमेत गर्नुभएको छ ।

यसैबीच, मण्डनदेउपुर नपा–८ का वडाध्यक्ष झलकप्रसाद पौडेल सामाजिक सुरक्षा–भत्ता वितरण गर्न घरघरमै जान थाल्नुभएको छ । लकडानउका कारण जेष्ठ नागरिक, एकल महिला, अशक्त नागरिक वडा कार्यायसम्म सामाजिक सुरक्षा–भत्ता लिन आउन नसक्ने भएकाले उनीहरुको घरघरमै पु¥याउन थालेको पौडेलले बताउनुभयो । “हामी जनताको सेवक हौँ, अप्ठेरो पर्दा सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया