बैतडी, बझाङ र दार्चुलाका सांसदद्वारा सरकारको ध्यानाकर्षण

  चैत २७, २०७६

बैतडी, चैत २७ : कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेका सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा सदस्यले बुधबार कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउनुुभएको छ । सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ र दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउनुुभएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर सुदूरका पहाडी जिल्लाहरुमा कोरोना रोकथामका लागि आवश्यक कदम चाल्न उहाँहरूले आग्रह गर्नुभएको हो ।

बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारी, दार्चुलाका गणेशसिंह ठगुन्ना र बझाङका भैरवबहादुर सिंहले दुवै मन्त्रीलाई भेटी भारतबाट फर्केका नागरिकहरुको थ्रोट स्वाब परीक्षणका लागि आवश्यक प्रक्रिया चाल्न र सीमावर्ती नाकामा रहेका नेपालीहरुलाई अविलम्ब स्वदेश फर्काउने विषयमा सरकारको ध्यानाकर्षण गराएको सांसद भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

यस्तै सुदूरपश्चिम प्रदेशमा तत्काल आवश्यक मेडिकल व्यवस्था गर्नुपर्ने, थप जनशक्ति पठाउनुपर्ने, भेन्टिलेटरको थप व्यवस्थापन गर्नुपर्ने तथा थप उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने उहाँहरूले माग गर्नुभएको छ । भेटका क्रममा दुवै मन्त्रीले सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सङ्घीय सरकारले आवश्यक कदम चाल्ने आश्वासन दिनुभएको थियो ।

यसैबीच नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीको टोली आएर आज बैतडी तथा डडेल्धुराका क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वाब सङ्कलन गर्ने सांसद भण्डारीले बताउनुभयो । देशैभर भेटिएका नौ कोरोना सङक्रमितमध्ये चार जना सुदूरपश्चिम प्रदेशका रहेका छन् ।

तपाईको प्रतिक्रिया