सेती प्रादेशिक अस्पतालमा सेवा थप्ने तयारी

  चैत २६, २०७६

अत्तरिया, चैत २६ : सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालले कोभिड–१९ का गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि भेन्टिलेटर र पाँच श्ययाको सघन उपचार कक्ष सेवा थप्ने तयारी शुरु गरेको छ ।

प्रदेश सरकारले कोरोना विशेष अस्पताल तोकेपछि उपलब्ध गराएको बजेटबाट अस्पतालले दुई भेन्टिलेटरसहित पाँच श्याको सघन उपचार कक्षका उपकरण खरिद गरी चाँडै सञ्चालनमा ल्याउने तयारी शुरु गरिएको जनाएको छ ।

सङ्क्रमण फैलिएको अवस्थामा कोरोना भाइरसका गम्भीर बिरामीको उपचारका लागि पूर्व तयारी स्वरुप भेन्टिलेटर र सघन उपचार कक्ष दुई÷तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद जोशीले जानकारी दिनुभयो ।

उहाँले थपिन लागेका सेवा सञ्चालनका लागि आवश्यकपर्ने भौतिक संचरना तयार भइरहेका बताउँदै भेन्टिलेटर र पाँच श्ययाको सघन उपचार कक्ष सञ्चालनमा आए उपचारमा टेवा पुग्ने जनाउनुभयो । सो अस्पतालमा अहिले एक भेन्टिलेटरसहित पाँच श्ययाको सघन उपचार कक्ष सेवा सञ्चालनमा रहँदै आएको छ । सुदूरपश्चिममा सरकारी र निजी अस्पताल गरी २५ बेड सघन उपचार कक्ष र १० भेन्टिलेटर रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत भूषण मिश्रले बताउनुभयो ।

महाकाली अस्पतालमा चार बेड तथा धनगढीको निजी अस्पताल नवजीवन र मायामेट्रोमा पाँच–पाँच तथा निसर्गमा छ बेडका सघन उपचार कक्ष सञ्चालनमा छन् । सेती र महाकाली अस्पताल तथा दार्चुला र डडेल्धुरा जिल्ला अस्पतालमा एक–एक भेन्टिलेटरका मेडिकल अधिकृत मिश्रले जानकारी दिनुभयो । बाँकी छ भेन्टिलेटर निजी अस्पतालमा रहेका मिश्रको भनाइ छ ।

तपाईको प्रतिक्रिया