‘कोरोनाविरुद्ध उच्च सावधानी’

  चैत २६, २०७६

बुटवल, चैत २६ : प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्दै प्रदेशलाई सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरिएको बताउनुभएको छ । झन्डै चार सय किलोमिटर खुला सिमानाको चुनौती रहेको यो प्रदेशमा उच्च सावधानीकै कारण अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन ।

गोरखापत्रसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “अहिलेसम्म हामी सुरक्षित छाँैं तर जोखिमबाट मुक्त छैनाँैं, कोरोनाविरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छाँैं ।”

अस्पताल र प्रयोगशाला
मुख्यमन्त्री पोखरेलका अनुसार कोरोनाविरुद्धको लडाइँमा प्रदेशले उपचार संयन्त्र र संरचनालाई प्रभावकारी बनाएको छ । प्रदेशभर कोरोना विशेष चारवटा अस्पताल तयारी अवस्थामा छन् । बुटवलको धागो कारखानामा सञ्चालित अस्पताल स्तरीय र व्यवस्थित भएको छ । अन्य अस्पताललाई पनि स्तरीय बनाइँदैछ । बिरामी कहाँ राख्ने भन्ने समस्या छैन । जनशक्तिको प्रबन्ध पनि भइसकेको छ ।

प्रदेशमा तीनवटा कोरोना प्रयोगशाला सञ्चालनमा आउँदैछन् । रुपन्देहीमा आइतबारबाट प्रयोगशाला सञ्चालनमा आइसकेको छ । नेपालगन्जको प्रयोगशालामा उपकरण ल्याइँदैछ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि तयारी तीव्र पारिएको छ । मुख्यमन्त्री भन्नुहुन्छ, “यो अवस्थालाई अवसरका रूपमा लिँदै यी प्रयोगशालालाई अन्य सबै प्रकारका सरुवा रोगको परीक्षण गर्न मिल्ने गरी दीर्घकालीन महìवका बनाइँदैछ ।”

सम्पूर्ण शक्ति केन्द्रित
अहिलेसम्म प्रदेशमा कोरोनाको सङ्क्रमण देखिएको छैन । रुपन्देहीमा सुरु भएको प्रयोगशालाको पहिलो परीक्षणमा सङ्क्रमण नदेखिएपछि सुरक्षाको उत्साह सञ्चार भएको छ । मुख्यमन्त्री पोखरेलको भनाइमा उच्च सतर्कता र सावधानीका कारण अहिलेसम्म यस्तो सम्भव भएको हो तर जोखिमबाट मुक्त नभएकाले अझ उच्च सतर्कता जरुरी छ ।
कोरोनामुक्त प्रदेश बनाउन सम्पूर्ण शक्ति केन्द्रित गरी व्यवस्थित कार्ययोजना बनाइएको छ । विभिन्न संयन्त्र उच्च मनोबलका साथ सक्रिय छन् । एक प्रदेशबाट अर्को प्रदेशमा आउने जानेलाई अलग गरिएको छ । दक्षिणी सीमामा निगरानी र सुरक्षा बढाइएको छ ।

क्वारेन्टाइनमा सबैभन्दा अगाडि
क्वारेन्टाइन र आइसोलेसन कक्षहरूको निर्माणलाई तीव्रता दिइएको छ । उहाँका अनुसार प्रदेशभरका स्थानीय तहमा त्यस्ता संरचना बनाउन भनिएको छ । अहिलेसम्म चार हजारभन्दा बढी क्वारेन्टाइन बनिसकेका छन् । बाहिरबाट आएका झन्डै दुई हजार जना क्वारेन्टाइनमा छन् । मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “सम्भवतः देशमै सबैभन्दा धेरै क्षमताका क्वारेन्टाइन यो प्रदेशमा निर्माण भएका छन् । क्वारेन्टाइनमा बस्नेको सङ्ख्या पनि अन्यत्रभन्दा धेरै छ ।”

लकडाउनको पालना
सुरुमा सीमा क्षेत्रमा समस्या देखिए पनि पछिल्ला दिनमा लकडाउनको पालनाका निकै सुधार आएको र नागरिक सचेत भएका छन् । सबैले अनुशासनपूर्वक पालना गरिरहेका छन् । सीमा क्षेत्र पुगेका दुवै देशका नागरिकको सुरक्षाबारे एकअर्काले जिम्मा लिने सहमति नेपाल–भारतबीच भएपछि वातावरण सहज बनेको छ ।

सङ्कट व्यवस्थापन केन्द्र
कोरोनाविरुद्ध प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रूपमा काम गर्न मुख्यमन्त्रीको अध्यक्षतामा गठित सङ्कट व्यवस्थापन केन्द्र सक्रिय छ । मुख्यमन्त्री पोखरेलका अनुसार केन्द्रले अस्पतालभित्रको सुरक्षा, केन्द्रीय कमान्डमा अस्पताल सञ्चालन, आउन नमान्ने सङ्क्रमितलाई अस्पतालमा ल्याउने प्रबन्ध र मानवीय क्षति भएमा अन्तिम संस्कारको वैकल्पिक प्रबन्ध गर्नेछ ।

पर्याप्त सुरक्षा र सुविधा
प्रदेश सरकारले उपचारमा खट्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन विभिन्न आकर्षक सुविधा र सुरक्षा प्रदान गर्ने भएको छ । शतप्रतिशत भत्ता र दोहोरो सुविधा पाउनेछन् । सरकारले खाने, बस्ने, उपचार र बिमाको व्यवस्था गर्नेेछ । प्रदेश सरकारले १० करोड रुपियाँ जम्मा गरेर कोरोना नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका लागि खाद्यान्न र राहतका लागि प्रदेश सरकारले विशेष रणनीति अपनाएको छ । “हामी नजिकबाट निगरानी गरिरहेका छौँ । कतै कमी र अभाव भएमा पूर्ण तयारी अवस्थामा छाँैं । त्यस्तो बेला वार्षिक बजेट रकमान्तर गरेर प्रदेशका लागि आवश्यक न्यूनतम खर्चको व्यवस्था आफैँ गर्न सक्नेछौँ”, उहाँले स्पष्ट पार्नुभयो ।

‘कोरोनाविरुद्ध उच्च सावधानी’

तपाईको प्रतिक्रिया