कपिलवस्तुका मृतकको कोरोना रिपोर्ट नेगेटिभ

  चैत २५, २०७६

चन्द्रौटा, चैत २५ : कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो ।

एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर बञ्जााडेले बताउनुभयो । बिरामीलाई शुक्रबार शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको अस्पतालबाट सिफारिस गरी कपिलवस्तु अस्पताल पठाइएको थियो ।

‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएकाले आइसोलेशनमा राखेर उपचार गरिएको बञ्जाडेले बताउनुभयो । रिपोर्ट नेगेटिभ आएकाले उनको शव परिवारको जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।

नेपालगञ्जमा कोरोना जाँच यन्त्र जडान
राँझा – कोभिड–१९ को परीक्षण गर्न नेपालगञ्जमा पोलिमर चेन रिएक्सन (पिसिआर) मेशिन जडान शुरु भएको छ । बाँके र बर्दिया जिल्लाका शङ्कास्पद बिरामीलाई लक्ष्य गरी भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि यन्त्र जडान आजदेखि शुरु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज नेपालगञ्ज आइपुगेको यन्त्त जडान गर्न शुरु गरिएको छ । यन्त्र जडान गरेर एकदुई दिनमै कोरोना भाइरस परीक्षण शुरु गरिने छ । भेरी अस्पतालमा जडान भइरहेको यन्त्रले एक दिनमा सय जना जतिको कोरोना भाइरस नमूना परीक्षण गर्न सक्नेछ ।

भेरी अस्पतालमा कोरोना परीक्षण गर्ने पिसिआर मेशिन खरीद तथा जडानका लागि प्रदेश सरकारले आफँै खर्च व्यहोर्ने निर्णय गरिसकेको छ ।

चार सय एकान्तबासमा
बाँकेमा स्थानीय तहले सञ्चालन गरेका एकान्तवासमा चार सय जना भन्दा बढी निगरानीमा छन् । तीमध्ये अहिलेसम्म ३१ जनाको नमूना जाँच भएको छ भने २३ जनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले जानकारी दिनुभयो ।

आज नेपालगञ्ज आउनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले यसप्रति चासो देखाउँदै बाँके र बर्दिया जिल्लाका शङ्कास्पद विरामीलाई लक्ष्य गरी भेरी अस्पतालमा कोरोना भाइरस परीक्षण यन्त्र जडानको काम द्रुतगतिमा गर्न निर्देशन दिनुभयो ।

राज्यमन्त्री रावतले नेपालगञ्जमा भेरी अस्पतालका निमित्त प्रमुख डा थापासँग कोरोना परीक्षण यन्त्र जडानको प्रक्रियावारे जानकारी लिँदै कुनै ढिलाइ नगर्न आग्रह गर्नुभयो । अस्पताल प्रमुख डा थापाले आजदेखि नै भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि यन्त्र जडान गर्ने प्रक्रिया अघि बढेको बताउनुभयो ।

रगत अभाव नहुन दिन पहल
कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमा बिरामीलाई रगतको अभाव नदिन पहल गरिएको छ । बन्दाबन्दीका कारण बाँकेस्थित अस्पतालमा रगतको अभाव भएपछि अन्तर पार्टी युवा सञ्जाल बाँकेले २४ सै घण्टा बिरामीलाई रगत उपलब्ध गराउने व्यवस्थाको शुरुआत गरेको छ ।

रगतका अभावमा रहेका बिरामीलाई रगत उपलब्ध गराउन सञ्जालले सम्पर्क व्यक्ति तोकेर रगत सङ्कलनदेखि बिरामीलाई उपलब्ध गराउन सहजीकरण गर्दै आएको नेकपा बाँकेका कार्यालय सदस्य रत्न खत्रीले जानकारी दिनुभयो ।

गुल्मीबाट पाँच जनाको स्वाब परीक्षण
गुल्मी– कोरोना संक्रमणको आशंकामा जिल्लामा पहिलो पटक पाँच व्यक्तिको स्वाब परीक्षणका लागि पठाइएको छ । रेसुंगा र मुसिकोट नगरपालिका तथा सत्यवती गाउँपालिकामा क्वारेन्टाइनमा रहेका पाँच व्यक्तिको स्वाब संकलन गरेर आज प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको गुल्मी अस्पताल तम्घासका डा उत्तम पच्याले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका व्यक्तिमध्ये रेसुंगाबाट एक, मुसिकोटबाट दुई र सत्यवती गाउँपालिकावाट दुई गरी पाँच व्यक्तिको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको हो । स्वाब परीक्षणका लागि पठाइएका पाँचै जना यही चैत ४ गते कतार एयरवेजको विमानबाट कोरोना संक्रमित युवतीसँगै नेपाल आएका थिए ।

तपाईको प्रतिक्रिया