रौतहटमा थप छवटा अस्थायी पोष्ट स्थापना

  चैत २५, २०७६

रौतहट, चैत्र २५ : भारतबाट हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्न रौतहटमा छवटा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । लक डाउनकै बीच चोरबाटो भएर भारतबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएको रौतहटको नाकामा ६ वटा अस्थायी प्रहरी पोष्ट थप गरिएको छ ।

यसअघि जिल्लाका बेलविछवा, गौर, औरैया, रामपुर खाप र सरमुजवा नाकाको गरी ५ ठाउँमा सशस्त्रको विओपी मात्रै रहेको अवस्थामा मंगलबारदेखि अस्थायी पोष्ट पनि खडा गरिएको छ ।
भारतसँग सीमा जोडिएको जिल्लाको ३२ किलोमिटरको विभिन्न छ स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले अस्थायी पोष्ट स्थापना गरेर सशस्त्र प्रहरी पनि परिचालन गरेको छ ।

भारतबाट नेपाल र नेपालबाट भारत छिर्नेहरुलाई यसअघि उक्त विओपीहरुबाट नै सशस्त्र प्रहरीले कडा निगरानी गर्दैआएकोमा मंगलबारदेखि अस्थायी प्रहरी पोष्टले पनि सीमा नाकामा आवतजावत गर्नेहरुमाथि कडा निगरानी गर्न थालेको छ ।

जिल्लाको बौधिमाई नगरपालिका ७ छोटी भन्सार कार्यालय, ईशनाथ नगरपालिका– ४ माध्यमिक बिद्यालय मठियाको भवन, राजदेवी नगरपालिका–९ सामुदायिक भवन, गौर नगरपालिका–२ महादेवपट्टी, गौर नगरपालिका– १ कानुपट्टी र ईशनाथ नगरपालिका– ६ घिउरा क्रान्ति आधारभूत विद्यालयमा उक्त नयाँ अस्थायी पोष्ट स्थापना गरिएको रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले जानकारी दिनुभएको छ ।

भारतबाट नेपाल आउन सक्ने सम्भावित ठाउँहरूमा चेकपोष्ट स्थापना गरी नाकामा अबदेखि थप कडाई गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया