झुलाघाट आईपुगेका २४९ नेपाली भारतीय क्वारेन्टाइनमा

  चैत २५, २०७६

बैतडी, चैत २५ : भारतका विभिन्न सहरबाट नेपाल आउन झुलाघाट सीमा नाकामा आईपुगेको २४९ जना नेपालीलाई स्वास्थ्य परीक्षण गरेर भारतीय अधिकारीले चार ठाउँमा क्वारेन्टाइनमा राखेको छ ।

कामको खोजीमा भारत पसेका बैतडी, बझङ, दैलेख र कैलाली जिल्लाका नेपाली लक डाउनपछि घर फर्किन झुलाघाट नाका आईपुगेका थिए ।

सीमा नाकामा आईपुगेका नेपालीको स्वास्थ्य परीक्षण गरेर झुलाघाट नजिकै पिथौरागढ जिल्लाको पञ्चायत घर र राष्ट्रिय प्राविमा १०४ जना, गौडीहाट ग्वालीमा ८८ जना र धर्मशाला तालेश्वरमा ५७ गरि २४९ जना नेपालीलाई भारतले क्वारेन्टाइनमा राखेको हो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय अधिकारीले जानकारी दिएका छन् ।

भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीको अवस्थाका बारेमा बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भारतीय अधिकारीसँग नियमित छलफल गरेर खाने बस्ने र स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका जिल्ला प्रमुखले भारतीय सीमा नाकाको निरीक्षण गर्नुभएको छ ।

लकडाउनका बेला सीमा नाकाबाट नेपालीहरु लुकीछिपी नेपाल भित्रिन थालेपछि झुलाघाटदेखि पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकासम्म गस्ती बढाएको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक अमित सिंहले बताउनुभयो ।

भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।

झुलाघाट पारि भारतीय क्वारेन्टाइनमा रहेका बैतडी, बझाङ, दैलेख र कैलालीका २४९ जना मध्ये अधिकांश बैतडीको पुरचौडी नगरपालिकाका रहेका छन् ।

तपाईको प्रतिक्रिया