भारतीय क्वारेन्टाइनमा रहेका ३० नेपालीद्वारा उद्धारको माग

  चैत २५, २०७६

नेपालगञ्ज, चैत २५ : लक डाउनमा कडाई गरिएपछि पछिल्लो पटक स्वदेश फर्किने क्रममा यहाँस्थित नेपाल भारत सिमानामा पुगेका ३० जना नेपालीहरुलाई भारत नानपाराको क्वारेन्टाइनमा राखिएको छ ।

तर, सो भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीहरुले उनीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित राखेर कैदीबन्दी जस्तै व्यवहार गरिएकाले उद्धारका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् ।

भारतको बनारसमा चौकीदारीको काम गर्दै आउनु भएका कैलाली भजनी ३ कुसुमघाट निवासी नरबहादुर साउदले नानपाराको क्वारेनटाइनमा ३० जना नेपालीसहित सयजना जति भारतीयहरुलाई पनि राखिएको जनाउँदै त्यहाँ स्वास्थ्य परीक्षण पनि नगरिएको र सामाजिक दुरी पनि कायम नगरिएको बताउनुभयो ।

उहाँले एउटै कोठामा धेरैलाई कोचाकोच गरेर राख्नुका साथै खाना नास्ता दिँदा पनि कुनै प्रकारको सामाजिक दुरी कायम नराख्ने गरिएको बताउनुभयो । खानेकुरा पनि निकै निम्न गुणस्तरको दिने गरिएको जनाउँदै साउदले यस्तै अवस्था रहेमा सबै नेपाली बिरामी पर्ने निश्चित रहेको बताउनुभयो ।

सोही क्वारेन्टाइनमा रहेका अर्का नेपाली कैलाली भजनी ३ कुसुमघाटकै दानबहादुर बोहोराले पनि आफूहरु जे सुकै गर्न तथा जुनसुकै शर्त मान्न तयार रहेको जनाउँदै तत्काल उद्धार गर्न आग्रह गर्नु भएको छ ।

बोहोराले एउटा मास्क समेत नदिई क्वारेन्टाइनको कुनै पनि मापदण्ड पूरा नगरेर आफूहरुलाई राखिएको गुनासो गर्दै विरोध गरेमा अभद्र व्यवहार समेत सहनुपरेको बताउनुभयो ।

साउद र बोहोरा बनारसबाट ६५० किलोमिटरको साइकल यात्रा गरेर स्वदेश छिर्ने गरी सिमानामा पुग्नुभएको थियो । तर, सिमानामा पुग्नु भएका उहाँहरु लगायत ३० जनालाई नानपाराको क्वारेन्टाइनमा राखिएको छ ।

सर्वोच्च अदालतले समेत सीमापारी रहेका नेपालीहरुरको उद्धार गरेर कवारेन्टाइनमा राख्ने आदेश दिएकाले सोही बमोजिम गर्नु पर्ने माग स्थानीय अगुवाहरुले गरेका छन् ।

नागरिक समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले तत्काल भारतीय क्वारेन्टाइनको निरीक्षण गरेर नेपालीहरुको अवस्था बुझ्नुका साथै उद्धार गरेर यहाँ ल्याएर सिमानाको क्वारेन्टाइनमा राख्नुपर्ने माग गर्नुभएको छ ।

सोही प्रकारको माग विभिन्न क्षेत्रका अन्य अगुवाहरुले पनि गरेका छन् । सो बारेमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दीर्घराज उपाध्यायसँंग प्रतिक्रिया माग्दा उहाँले सो बारेमा आफूहरुले पनि बाहिरबाट सुनेको जनाउँदै उक्त सम्बन्धमा स्थानीयस्तरबाट केही गर्न नसकिने बताउनुभयो ।

उहाँले यस्ता कुराहरु यहाँमात्र नभई अन्य सिमानापारीमा पनि भैरहेको मिडियामार्फत् थाहा पाएको जनाउँदै यसबारेमा केन्द्रीयस्तरमा कुटनीतिक तरिकाले मात्र समाधान गर्न सकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया