स्थानीय तहका गुनासो सुन्दै प्रदेश सरकारका मन्त्रीहरु

  चैत २४, २०७६

जाजरकोट, चैत २४ : कर्णाली प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएका कामको अनुगमनका लागि प्रदेशका मन्त्रीहरु जिल्ला जिल्लामा पुगेका छन् । हेलिकोप्टरबाट डोल्पा, हुम्ला र मुगुमा औषधी तथा व्यक्तिगत सुरक्षा सामग्री (पिपीई ) पठाएको कर्णाली प्रदेश सरकारले अन्य यातायातको पहुँच हुने ठाउँमा स्थलगत रुपमा सामग्री पठाएको थियो ।

पठाएका सामग्रीहरु सदुपयोग र स्थानीय सरकारका कामबारे जानकारी लिन आफूहरु जिल्लामा पुगेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री विमला केसीले जानकारी दिनुभयो । मन्त्रीहरुको टोलीले शनिबार सल्यान र रुकुमपश्चिममा र आइबार जाजरकोटमा अनुगमन गरेको थियो । टोलीले रुकुमपश्चिमको कोरोना अस्पतालको निरीक्षण समेत गरेको थियो ।

प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसी, सामाजिक विकासमन्त्री दल रावल जाजरकोट आएर जिल्लाको सातै तहको तयारीका विषयमा जानकारी लिनुभएको थियो । कर्णाली प्रदेशका सबै जिल्लामा प्रदेश सरकारले उपलव्ध गराएको स्वास्थ्य सामग्रीहरु पठाइसकेको मन्त्री केसीले जानकारी दिनुभयो । सामाजिक विकासमन्त्री रावलले चिकित्सकहरुलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दै भन्नुभयो, “तपाईहरुको साथमा हामी छौँ, ढुक्कका साथ काम गर्नुहोस्, समस्या परेमा हामीले हेलिकोप्टरबाट सेवा दिने छौँ ।”

टोलीले जाजारकोट सदरमुकामको स्वास्थ्य सेवा कार्यालयद्वारा निर्माण गरिएको १२ शैयाको आइसोलेशन कक्षको अनुगमन तथा भेरी नगरपालिकाले त्रिभुवन माविमा निर्माण गरेको क्वारेन्टाइनको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । स्वास्थ्य सेवा कार्यालयमा ज्वारो नाप्ने थर्मलगन अहिलेसम्म नपुगेको भन्दै स्थानीयबाट मन्त्रीहरुलाई असन्तुष्टि व्यक्त गरिएको थियो ।

जिल्लाका सातै तहका सरकार प्रमुखले हतियारविना कसरी काम गर्ने भन्दै मन्त्रीहरुसँग गुनासो गरेका थिए । स्थलमा काम गर्न जाउँ भन्ने तर हतियार नै नभएपछि कसरी काम गर्नु नलगाड नगरपालिकाका नगरप्रमुख प्रमुख टेकबहादुर रावलले गुनासो गर्नुभयो । स्थानीय स्रोत र साधनले भ्याएसम्म काम गरेको अर्का छेडागाड नगरपालिकाका नगरप्रमुख प्रमुख लालबहादुर महतराले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पन्तले दोस्रो तथा तेस्रो मुलुकबाट जाजरकोटमा २३० जना आएको जनाउँदै ती सबै होम क्वारेन्टाइनमा बसेको उहाँको भनाइ छ । प्रत्येक वडामा ५ वटाका दरले क्वारेन्टाइन निर्माणको कामलाई गति दिइएको उहाँले जानकारी दिनुभयो । देशका विभिन्न ठाउँबाट १ हजार भन्दा बढी मानिसहरु जाजरकोट आएका थिए । त्यसका डोल्पाबाट १५० छन् । कूल १२ वटा आइसोलेशन निर्माण गरिएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो ।

जिल्लामा ५३ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीर्ई) प्राप्त भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीले बताउनुभयो । १ हजार ४ सय क्विन्टल आयोडिनयुक्त नुन मौजदात छ । निजी क्षेत्रको बजारले दुई हप्तासम्म पुग्ने खाद्यान्न रहेको उद्योग वाणिज्य सङ्घ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले सरकारले खाद्यान्न र अन्य वस्तुहरु खरिद गर्दा स्थानीय वजारबाट खरिद गरी लकडाउनको समयमा न्यून भएको व्यापारलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया