कोरोना परीक्षण पर्याप्त हुन नसक्दा सर्वसाधारणमा त्रास

  चैत २१, २०७६

काठमाडौं, चैत २१ : स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबारसम्म नेपालमा एक हजार २७७ जनामा कोरोना भाइरस संक्रमणको परीक्षण भएको छ ।

तीमध्ये ६ जनामा संक्रमण पुष्टि भएको छ ।  जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको छ । त्यस्तै, काठमाडौंमा १५ र उपत्यका बाहिर एक सय ५ जना आइसोलेसनमा छन् ।

बिहीबार परीक्षणको संख्या ११ सय ८४ थियो । अर्थात् एक दिनमा ९३ जनाको परीक्षण भएको छ। बिहीबारसम्म आइसोलेसनमा रहेकाको संख्या एक सय पाँच थियो । शुक्रबार थप १५ जना आइसोलेसनमा गएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारबाट प्रदेश २ को अस्थायी राजधानी जनकपुर, बागमती प्रदेशको राजधानी हेटौंडामा र सेती प्रादेशिक अस्पताल धनगढीबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ । शुक्रबार धरानमा ३९, जनकपुरमा ५, हेटौंडामा ५, पोखरामा १९ सुर्खेतमा सात र धनगढीमा ४ जनाको परीक्षण भएको छ ।

बाहिर परीक्षण गरिएकाहरुको पुनः टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गरेपछि मात्रै कोरोनाको संक्रमण पुष्टि भए/नभएको सार्वजनिक गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । प्रदेश र मुख्य शहरहरुमा पठाइएको मेसिनको समेत परीक्षणका टेकु बाहिरको परीक्षणको पनि केही समय पुनः परीक्षण गर्नुपरेको उनले बताए ।

बुटवलमा परीक्षणका लागि मेसिन जडान कार्य जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चितवनको भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोना परीक्षण ल्याब स्थापना गर्ने कार्य अघि बढेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भने सुरुदेखि कोरोनाको परीक्षण हुँदै आएको छ । सरकारले देशका मुख्य शहरसहित सातै प्रदेशमा कोरोना भाइरस संक्रमणको उपचार व्यवस्था समेत मिलाएको छ ।

कोरोना भाइरसबाट बढी प्रभावित देशमध्ये इटलीमा प्रति १० लाख सात हजार जनामा परीक्षण गरिएको छ । नेपालमा प्रति १० लाखमा ३२ जनाको परीक्षण भएको हिसाब स्वास्थ्य मन्त्रालयको तथ्याङ्कबाट निकाल्न सकिन्छ ।

परीक्षण नै कम भएकोले कोरोना भाइरस महामारीकै रुपमा फैलिइरहेको त छैन ? भन्ने चिन्ता छ। विदेशबाट आएकाहरु गाउँ-गाउँमा निर्वाध घुलमिल गरिहेका छन् । दिनभरीको कामले बिहान-बेलुकाको जोहो गर्ने सहरी मजदुरहरु पनि रातरातभर हिँडेर आ-आफ्नो गाउँ पुगिरहेका छन् । ग्रामीण भेगमा लकडाउनको पूर्ण पालना भएको छैन ।

स्वास्थ्य मन्त्रालयमा शुक्रबारसम्म विभिन्न जिल्लाबाट कोरोना भाइरसबारे तीन हजार ५०२ वटा जनस्तरबाट गुनासो आएका छन् । तीमध्ये अधिकांश कोरोना परीक्षणसँग सम्बन्धित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्तासमेत रहेका स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटालाई उद्धृत गर्दै अनलाइन खबरले जनाएको छ ।

‘स्थानीय तहमा परीक्षणको व्यवस्था होस्’
गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष होमनारायण श्रेष्ठ जनशक्ति र किट विदेशबाट ल्याएर भए पनि अब प्रत्येक स्थानीय तहमा कोरोना परीक्षणको व्यवस्था मिलाउनुपर्ने बताउँछन् । ‘उपचारका लागि निश्चित ठाउँ तोकियोस्’, उनी भन्छन्, ‘संक्रमण भए/नभएको परीक्षण चाही हरेक स्थानीय तहमा नै गर्न पर्‍यो ।’

सांसदहरुले पनि संघीय सरकारलाई स्थानीय तहमा परीक्षणको व्यवस्था मिलाउन भन्दै आएका छन् । तर, यसका लागि तीन तहको सरकारबीच समन्वयको अभाव रहेको गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष श्रेष्ठले बताए ।

बिहीबार तनहुँका केही स्थानीय तहको भ्रमण गरेका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले त्यहाँ प्रदेश र संघीय सरकारको उपस्थिति नदेखिएको बताए । स्थानीय तहमा कोरोना रोकथाम र उपचारका सम्बन्धमा थुप्रै समस्या देखियो’, उनले अनलाइनखबरसँग भने, ‘स्थानीय तह र त्यहाँका अस्पतालमा थर्मोगनसमेत पुगेको रहेनछ ।’

निकट छिमेकी चीनबाट कोरोना भाइरस फैलिएको तीन महिनामा नेपाल सरकारले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बाहेक प्रदेशहरु पनि कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको छ । अहिले धरान, जनकपुर, हेटौंडा र धनगढीमा यो सुविधा छ । भरतपुर, बुटवल र सुर्खेतमा छिट्टै कोरोना भाइरस परिक्षण सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले राजधानीको पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै, मेची अस्पताल, उदयपुर अस्पताल, जनकपुर अस्पताल, बारा अस्पताल, भक्तपुर अस्पताल, सिन्धुली अस्पताल, धौलागिरी अस्पताल, गोरखा अस्पताल, लुम्बिनी अस्पताल, तम्घास अस्पताल, सुर्खेत अस्पताल, दैलेख अस्पताल, सेती अस्पताल र महाकाली अस्पताललाई पनि कोरोना संक्रमितको उपचार हुने अस्पताल तोकेको छ ।

‘अब परिस्थिति हेरेर निर्णय हुन्छ’
सरकारले कोरोना भाइरस फैलिन नदिन २५ गतेसम्म देशलाई लकडाउन गरेको छ । त्यसपछि के हुन्छ, लकडाउन बढ्छ ? भन्नेबारे जनचासो व्याप्त छ । स्वास्थ्यमन्त्री रहिसकेका नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा लेखेका छन्- ‪सरकार ! चैत्र २५ पछिको हाम्रो रणनीति र योजना के ?’

अनलाइनखबरले यही प्रश्न कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलस‌ँग राख्दा स्पष्ट जवाफ आएन । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का समेत संयोजक रहेका उनले भने, ‘लकडाउन बढ्छ कि बढ्दैन भन्ने विषय कुनै राजनीतिक निर्णय गर्ने जस्तो होइन । परिस्थिति, संक्रमणको स्थिति कुन ढङ्गको देखिन्छ, त्यही हिसावले निर्णय हुन्छ ।’

तपाईको प्रतिक्रिया