काेराेना नियन्त्रणमा अन्तर्राष्ट्रिय संयन्त्र परिचालन गर्न विश्वका १९३ राजनीतिक दलकाे अपिल

  चैत २१, २०७६

काठमाडौँ, चैत २१ : कोभिड–१९ को महामारीलाई प्रभावकारी रोकथाम र नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्यमा जोड दिनुपर्ने विषयमा विश्वका राजनीतिक दलहरु एकमत भएका छन् ।

प्रभावकारी अन्तर्राष्ट्रिय रोकथाम र नियन्त्रण गर्न जी २० र अन्य अन्तर्राष्ट्रिय संयन्त्र परिचालन गर्नुपर्ने ती दलहरुको निष्कर्ष रहेको छ । विश्वका १९३ राजनीतिक दलले १० बुँदे संयुक्त अपिल जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी विदेश मामला विभागका प्रमुख माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको प्रभावकारी नियन्त्रण र रोकथामका लागि अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक हुने स्पष्ट पार्नुभएको छ ।

कोभिड–१९ बिरुद्ध विश्वका राजदीतिक दलद्वारा जारी अपिलमा भनिएको छ, “कोभिड– १९ विश्वव्यापी रूपमा दु्रतगतिमा फैलिरहेको छ, यो मानवीय स्वास्थ्य तथा विश्वशान्ति र विकास दुबैका लागि सबैभन्दा जरुरी र गम्भीर चुनौती बनेको छ ।”

अपिलमा भनिएको छ, “जनताको जीवन, सुरक्षा र स्वास्थ्यलाई सबैभन्दा माथि राख्न र कोभिड– १९ फैलावट अन्त्य गर्न ठोस तथा सशक्त कदम चाल्न सबै राष्ट्रलाई आग्रह गरेका छौं ।” अपिलमा विश्वव्यापी आर्थिक मन्दी रोक्न व्यापार सुविधाको लागि सीमाशुल्क घटाउन वा छुट दिन समेत आग्रह गरिएको छ ।

तत्काल आवश्यक पर्ने मेडिकल उपकरण र सुरक्षात्मक सामाग्रीको सीमापार आदान प्रदानको उचितस्तर कायम राख्न समेत अपिलमा राष्ट्रहरूलाई प्रोत्साहित गरिएको छ ।

तपाईको प्रतिक्रिया