रहेनन् डकवर्थ लेविस नियमका एक जन्मदाता

  चैत २१, २०७६

एएफपी, चैत २० : ‘डकवर्थ लेविस नियम’ का जन्मदातामध्ये एक टोनी लेविसको बिहीबार निधन भएको छ । उनी ७८ वर्षका थिए । वर्षाले प्रभावित हुने वान डे खेलमा ‘डकवर्थ लेविस नियम’ लागू हुन्छ ।

लेविसले अर्का साथी गणितज्ञ फ्रायन्‍च डवकर्थसँग लिमेर सन् १९९७ मा यो नियमको विकास गरेका थिए । सन् १९९९ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो नियम लागू गरेको थियो ।

यो नियम अहिलेसम्म पनि कायम छ । वेल्समा जन्मेका लेविस प्राज्ञिक गणितज्ञ थिए र सन् २०१० मा विश्व क्रिकेटमा उनले पुर्‍याएको सम्मानका लागि एबीई अवार्ड प्रदान गरिएको थियो ।

सन् १९९२ को विश्वकपको सिड्नीमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच भएको सेमिफाइनल वर्षाले प्रभावित भएपछि त्यति बेला असाधारण स्थिति तयार भएको थियो । त्यति बेलासम्म सबैभन्दा कम रन बनेको ओभर काटेर नयाँ जितको लक्ष्य तयार पार्ने नियम थियो ।

त्यस आधारमा एक समय १३ बलमा जितका लागि २२ रन बनाउनु पर्ने दक्षिण अफ्रिकाले खेल वर्षाले प्रभावित भएपछि एक बलमा २१ रन बनाउनु पर्ने नयाँ असम्भव लक्ष्य पाएको थियो ।

त्यही खेलपछि वान डे क्रिकेटमा खेल वर्षाले प्रभावित भएयता नयाँ नियमको आवश्यकता महसुस भएको थियो । त्यसै अनुसार लेविसले डकवर्थसँ मिलेर नयाँ शूत्र विकास गरे र यो नै पछि ‘डकवर्थ लेविस नियम’ नामले प्रसिद्ध भयो ।

तपाईको प्रतिक्रिया