विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै

  ३ घण्टा अगाडि

काठमाडौँ, २ कात्तिक : आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ओमानको अलअमरात क्रिकेट मैदानमा आज बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपालका लागि यो खेल महत्वपूर्ण छ । ओमानलाई पराजित गर्नसके नेपालले लिग–२ को शीर्ष छ स्थान सुरक्षित गर्दै सोझै एकदिवसीय अन्तरराष्ट्रिय मान्यता जोगाउन सफल हुनेछ । अन्यथा नेपालले एकदिवसीय मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ ।

शङ्खलाको पछिल्लो खेलमा क्यानडाविरुद्ध २४ रनले पराजित भएपछि नेपाल तालिकाको सातौँ स्थानमा झरेको थियो । छैटौँ स्थानमा रहेको क्यानडाभन्दा नेपालको नेट रनरेट राम्रो रहेकाले खेल रद्द भएर एक अङ्क पाए पनि नेपाल शीर्ष ६ मा पुग्ने सम्भावना छ । तर, ओमानमा वर्षाको सम्भावना न्यून रहेकाले नेपाल जितकै लक्ष्यमा मैदान उत्रनेछ ।

नेपालले यसअघि शृङ्खलाको दोस्रो खेलमा ओमानलाई ११३ रनले पराजित गरेको थियो । अब नेपाली टोली सोमबार पनि उत्कृष्ट प्रदर्शन गरेर ओमानविरुद्ध जित दोहो¥याउन चाहन्छ ।

एकदिवसीय अन्तरराष्ट्रियमा नेपाल र ओमानबीच हालसम्म १२ खेल भएका छन् । जसमा दुवैले समान ६–६ खेल जितेका छन् । पछिल्ला तीन भेटमा भने नेपालले ओमानलाई पराजित गरेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया