खाद्यान्न ढुवानीकाे लागि एकैदिन १४ फ्लाइट

  चैत २०, २०७६

सिमकोट, चैत २० : लक डाउनको समयमा हुम्लामा बिहीबार १४ फ्लाइट खाद्यान्न ढुवानी गरिएको छ । हुम्लाबासीको मागलाई ध्यान दिएर हवाई मार्गबाट खाद्यान्न ढुवानी गर्ने कार्य सरकारले सुरु गरेपछि नेपालगंज र सुर्खेतबाट खाद्यान्न ढुवानी गरिएको हो ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख बिष्णुप्रसाद अधिकारीले विहीवार १४ वटा उडान गरीखाद्यान्न ढुवानी भएको बताउनुभयो । उहाँका अनुसार हावा नलागेको भए अझै उडान थप हुने थियो ।

उहाँले बिहीबार मात्र १४ उडान खाद्यान्न नेपालगंज र सुर्खेतबाट ढुवानी भएको जानकारी दिनुभयो । यसबाट दुई सय आठ क्विन्टल ३० केजी खाद्यान्न ढुवानी भएर आएको छ । सीता एयरले आठ फ्लाइटबाट एक सय पाँच क्विन्टल तीस केजी ढुवानी गरेको छ भने तारा एयरले तीन फ्लाइटबाट ५१ क्विन्टल र समिट एयरले पनि तीन फ्लाइटबाटै ५१ क्विन्टल ३० केजी चामल ढुवानी गरेको छ ।

लक डाउनका बेला खाद्यान्न ढुवानी हुन थालेपछि हुम्लाबासीको खाद्यान्न समस्या समाधान हुनेछ । खाद्यान्न बुधबारबाट ढुवानी हुन सुरु भएको हो । नेपाल खाद्यान्न ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखामा खाद्यान्न मौज्दात न्यून भएपछि केही समय अगाडि खाद्यान्न आपूर्तिको लागि हुम्लाबासीले सरकारलाई माग गरेका थिए ।

तपाईको प्रतिक्रिया