कोरोना भाइरसको संक्रमण दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती : राष्ट्रसंघ

  चैत १९, २०७६

काठमाडौं, चैत १९ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड-१९)को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् ।

कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले विश्वसामु दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो चुनौती आएको बताएका हुन् ।

कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना पनि उनले औंल्याएका छन् । ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ, जुन कहिल्यै निम्तिएको थिएन,’ गुट्रेसले रिपोर्ट सार्वजनिक गर्दै भनेका छन् ।

कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना पनि उनले औंल्याएका छन् । ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ, जुन कहिल्यै निम्तिएको थिएन,’ गुट्रेसले रिपोर्ट सार्वजनिक गर्दै भनेका छन् ।

उनले निम्न र मध्यमस्तरका देशहरुलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग होस् भनेर राहत कोष खडा गर्न लागेको जानकारी पनि दिएका छन् ।

महासचिव गुट्रेसले कोरोना भाइरसले समाजका सबैजसो अंगलाई आक्रमण गरेको पनि बताए । ‘कोभिड–१९ ठूलो परीक्षा हो । जुन संयुक्त राष्ट्रसंघ गठन भएयता सबै मिलेर सामना गर्दैछौं,’ महासचिव गुट्रेसले भनेका छन् । गुट्रेसले समन्वयकारी स्वास्थ्य सतर्कता अपनाएर महामारी अन्त्यका लागि भूमिका खेल्न पनि सबैलाई आग्रह गरेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म ४१ हजार बढी मानिसको ज्यान गएको छ । झण्डै ८ लाख ५० हजार मानिसमा यसको लक्षण देखापरेको छ । कोरोना प्रकोप बढेपछि अहिले विश्वका सबैजसो देशले सतर्कता अपनाइरहेका छन् ।

२ सय मुलुक प्रभावित, ४२ हजारभन्दा बढीको मृत्यु
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका करिब २ सय मुलुकमा फैलिइसकेको छ । बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ४२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ८ लाख ५९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया